मकवानपुरथाहा नगरपालिकाचित्लाङमा जिपको डिक्कीबाट ६ किलो बढी चरेशसहित दुई जना पक्राउ

चित्लाङमा जिपको डिक्कीबाट ६ किलो बढी चरेशसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित चेकपोस्टमा प्रहरीले चेकजाँचका क्रममा ६ किलोभन्दा बढी अवैध लागुऔषध चरेशसहित एउटा महँगो मोडेलको जिप र दुई जनालाई नियन्त्रणमा लिएको छ।

​इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको कमाण्डमा खटिएको टोलीले गए राति (कार्तिक ३० गते) करिब १:४५ बजे गोर्खा, चितवन सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको सेतो रङ्गको ओमोडा जेकु सिक्सटी (Omoda Jaecoo 6T) मोडेलको एसयुभी (SUV) जिप रोकी जाँच गरेको थियो।

​सो क्रममा गाडीको पछाडिको डिक्कीमा रहेका लगेज ब्यागहरू खानतलासी गर्दा कालो रङ्गको लगेजभित्र लत्ताकपडाले बेरी लुकाइछिपाई ल्याएको अवस्थामा सेतो प्लास्टिकले र्‍याप गरिएका ५ वटा पोका फेला परेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोहवरमा तौल गर्दा प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक बाहेक ६ किलो ४० ग्राम चरेश फेला परेको हो।

​घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जिप चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र जिपमा सवार चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई हाल क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई नियन्त्रणमा लिएको छ।

​अवैध चरेश, ओसार्न प्रयोग गरिएको जिप र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पालुङको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार