मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका व्रतालुहरूले आज कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ व्रत पूरा भएको हो।
बिहानैदेखि मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारसहित तराई–मधेश, काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालु र दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ। पर्वका अवसरमा देशभरका छठ घाटहरूलाई विशेष रूपमा सिँगारिएको छ।
सरकारले छठ व्रत समापनको अवसरमा आज (सोमबार) पनि देशभर सार्वजनिक बिदा दिएको छ। विगतका वर्षहरूमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने कात्तिक शुक्ल षष्ठीका दिन मात्र सार्वजनिक बिदा दिँदै आएकोमा यस वर्ष सरकारले षष्ठी र सप्तमी दुवै दिन बिदा दिएको हो।
कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने छठ पर्वमा सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै सूर्यदेव र छठी माताको उपासना गर्ने परम्परा छ।


