मौसमअबको दुई हप्ता देशभर मौसम सफा रहने

अबको दुई हप्ता देशभर मौसम सफा रहने

काठमाडाैँ । पश्चिमी न्यूनचापीय प्रणाली निष्क्रिय भएसँगै अबको करिब दुई हप्तासम्म देशका अधिकांश स्थानको मौसम सफा रहने भएको छ। हिजो (आइतबार) केही स्थानमा वर्षा र हिमपात गराएको उक्त प्रणाली हटेपछि अब वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

​मौसमविद् एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक विनोद पराजुलीका अनुसार आगामी झण्डै दुई हप्तासम्म नेपालका धेरै स्थानमा पानी पार्ने कुनै उल्लेखनीय मौसमी प्रणाली भित्रिने सङ्केत देखिएको छैन। बङ्गालको खाडीमा विकसित हुने प्रणालीले समेत नेपालमा वर्षा गराउने सम्भावना नरहेको उनले जानकारी दिए।

​यस्तै, जलवायुविज्ञ उज्ज्वल उपाध्यायले पनि कम्तीमा एक हप्ता मौसम घमाइलो रहने बताए। उपल्लो हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहे पनि देशका अधिकांश भागमा बदली र वर्षा नहुने उनको भनाइ छ।

​तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख हल्का हुस्सु र कुहिरो लागे पनि घाम लागेसँगै चाँडै हट्ने जनाइएको छ। मौसम खुलेर घमाइलो हुने भएकाले अब किसानहरूले ढुक्क भएर पाकेको धान काट्न र सुकाउन सक्नेछन्।

​यसका साथै, मौसम सफा रहने र अत्यधिक चिसो पनि बढिनसकेकाले अबको एक–दुई हप्ता हिमाली तथा उच्च पहाडी क्षेत्रमा पदयात्रा (ट्रेकिङ) का लागि समेत अनुकूल हुने मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार