विराटनगर | कोशी प्रदेशको समृद्ध भूमिमा इतिहासमै पहिलो पटक कृषि एक्स्पोको आयोजना गरिएको छ। मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिद्वारा आयोजित यस ऐतिहासिक कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे।
यस महत्त्वपूर्ण कृषि एक्स्पोमा १३० वटा स्टल राखिएका छन्, जसमा कृषि र पशुपालनसँग सम्बन्धित सरकारी कार्यालयका स्टलहरू, निजी क्षेत्रका नवीन कृषि उपकरण तथा किसानहरूका उत्पादनहरू प्रदर्शित गरिएका छन्। यी स्टलहरूमा नवीन प्रविधि, उन्नत खेती प्रणाली, कृषि औजार, यन्त्र, बीउ बिजन, मलखाद लगायतका सामग्रीहरू प्रस्तुत गरिएको छ, जसले किसानहरूको खेती प्रणालीलाई आधुनिक बनाउन मद्दत गर्नेछ।
कार्यक्रमका विशिष्ट अतिथि संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रलाई सरकारले अझ नजिकबाट हेर्ने र उन्नत जातका बीउ बिजन तथा मलखाद वितरण गर्न सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “कृषि उत्पादनको वृद्धि र गुणस्तर सुधार गर्न सरकार दृढ छ, र किसानहरूको सहयोगमा हामी आत्मनिर्भर कृषि प्रणालीको निर्माण गर्नेछौं।”
यस एक्स्पोको मुख्य उद्देश्य नेपाली किसानहरूले उत्पादन गरेका वस्तुहरूको प्रवर्द्धन गर्नु, बजारीकरणमा सहयोग पुर्याउनु, र किसानहरूलाई आधुनिक औजार, यन्त्र, उपकरण र खेती पद्दतिका बारेमा जानकारी दिनु रहेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले एक्स्पो हरेक वर्ष आयोजना गर्ने योजना रहेको बताए।
मुख्यमन्त्री कार्कीले आफ्नो सम्बोधनमा निजी क्षेत्रले कृषि विकासमा चालेको कदमको प्रशंसा गर्दै यस्ता एक्स्पोहरूलाई निरन्तरता दिने र थप व्यापक बनाउने योजना रहेको बताए।
यस एक्स्पोमा नेपालका साथै भारतको बिहारबाट पनि विशेष सहभागिता रहेको छ। बिहार व्यापार एशोसिएसनका पदाधिकारीहरू तथा बिहार कृषि विभागको समन्वयमा २० वटा स्टलसहितको उल्लेखनीय उपस्थिति रहेको छ, जसले दुई देशबीचको कृषि व्यापार र सम्बन्धलाई अझ प्रगाढ बनाउने संकेत गरेको छ।
करिब १ करोड रुपैयाँको लागतमा आयोजित यो एक्स्पो भदौ ३० गतेसम्म सञ्चालन हुनेछ। यसमा स्विस सरकार विकास सहयोगी एसडीसी, कोशी प्रदेश सरकार, सम्बद्ध प्रदेशको मन्त्रालय, कृषि बजार विकास कार्यक्रम र कटहरी गाउँपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
यो कृषि एक्स्पोले किसानहरूलाई आधुनिक प्रविधि र उन्नत खेती प्रणालीको जानकारी प्रदान गर्दै नेपाली कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने दिशामा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। हजारौँ किसान, कृषि व्यवसायी, र कृषि क्षेत्रका विज्ञहरूको सहभागिताले यस एक्स्पोलाई नेपालको कृषि क्षेत्रको विकासमा एक महत्त्वपूर्ण मील पत्थर बनाएको छ।