इटहरी | यस वर्षको दसैं र तिहारका चाडपर्वमा कोशी प्रदेशका सडकहरूमा ८६४ सवारी दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् भने ८० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेर ९६१ जना सामान्य घाइते भएका छन्। दसैंको घटस्थापनादेखि तिहारको भाइटीका सकिएसम्मका एक महिनामा भएका यस्ता घटनामा सबैभन्दा धेरै दुर्घटनामा मोटरसाइकलले परेका छन् ।
ट्राफिक प्रहरीका अनुसार, यस अवधिमा ५१३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै, ११७ वटा टेम्पो, १०५ वटा जीप तथा कार, ३० वटा बस, १६ वटा ट्याक्टर, र अन्य सवारी साधन दुर्घटनामा परेका छन्। सवारी दुर्घटनामा परेका अधिकांश चालकले तीव्र गति र मादक पदार्थ सेवन गरेको पाइएको ट्राफिक कार्यालयको अनुसन्धानले देखाएको छ।
दुर्घटनामा सबैभन्दा धेरै मोरङ प्रभावित
१४ जिल्लाको कोशी प्रदेशमा मोरङमा सबैभन्दा धेरै दुर्घटना भएको छ, जहाँ ३२१ सवारी दुर्घटनामा परेका छन्। झापामा २२८ र सुनसरीमा २०९ दुर्घटना भएको छ। ताप्लेजुङ र इलाममा भने सबैभन्दा कम १/१ वटा दुर्घटना भएको देखिएको छ।
दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्यामा झापा सबैभन्दा अघि छ, जहाँ १२ जनाको मृत्यु भएको छ। मोरङमा ७, सुनसरीमा ६, र उदयपुर, संखुवासभा, खोटाङमा २/२ जनाको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए। पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, र ओखलढुंगामा सवारी दुर्घटना भए पनि मानवीय क्षति भएको छैन।
ट्राफिक सचेतनामुलक कार्यक्रम भए पनि दुर्घटना घटेन
ट्राफिक प्रहरीका अनुसार, चाडपर्वको समयमा यात्रु सहायता कक्ष स्थापना गरी चालक र यात्रुलाई सहयोग गर्न र सचेतना फैलाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिए पनि दुर्घटनामा कमी आएको छैन। तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबढी, र चालकको लापरबाही दुर्घटनाका प्रमुख कारण हुन्।
चाडपर्वका लागि विशेष तयारी गर्दै ट्राफिक प्रहरीले सडकमा सुरक्षा कडा पार्नुका साथै, नियम उल्लंघन गर्नेलाई कारबाही पनि गरेको छ। दुर्घटनामा परेका सवारी साधनहरूमध्ये धेरैजसो मापसे गरेर भित्री सडकमा यात्रा गरिरहेका बेला दुर्घटनामा परेका थिए। मादक पदार्थ सेवनसँगै तीव्र गतिको चलनले दुर्घटनाको जोखिम झनै बढाएको प्रहरीले बताएको छ।
एसपी घिमिरेले भने, "चाडपर्वमा दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक सक्रियता बढाइएको थियो, तर मुख्य कारणहरू निवारण गर्न अझै चुनौती रहन्छ। तीव्र गति नियन्त्रण, मापसे रोकथाम, र यान्त्रिक गडबढीको चेकजाँच कडाई गर्ने योजना अगाडि बढाइएको छ।"