काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेङ्गु रोगको सङ्क्रमण अहिले ७१ जिल्लामा फैलिएको छ । यो रोग गत जेठ ११ गतेसम्म ५७ जिल्लामा मात्र सीमित थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तन र गर्मीका कारण डेङ्गुको सङ्क्रमण बढेको बताए । उनका अनुसार, गर्मीमा मानिसहरूले पानी सङ्कलन गर्ने र त्यस्तो पानीमा लामखुट्टेले फुल पार्ने हुँदा डेङ्गुको जोखिम बढेको हो ।
हालसम्म ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमण देखिएको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा कम हो, जब ७७ जिल्लामा ५१ हजार एक सय ४३ जना सङ्क्रमित भएका थिए ।
प्रदेशगत रूपमा हेर्दा, कोशी प्रदेशमा २७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा ३९०, गण्डकी प्रदेशमा १७५, लुम्बिनी प्रदेशमा १३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११५ जनामा सङ्क्रमण देखिएको छ ।
काठमाडौँ उपत्यकामा १५९ जना सङ्क्रमित भएका छन् । यसमध्ये काठमाडौँमा ११४, भक्तपुरमा २७ र ललितपुरमा १८ जना रहेका छन् ।
डेङ्गु ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यसका लक्षणहरूमा उच्च ज्वरो, टाउको दुखाइ, आँखाको गेडी दुख्ने, ढाड, शरीर र घुँडाका जोर्नी दुख्ने तथा पिँडौलाको मासु दुख्ने आदि पर्दछन् ।
मन्त्रालयले डेङ्गुबाट बच्न झुल प्रयोग गर्न, लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गर्न र घर वरिपरि पानी जम्न नदिन सुझाव दिएको छ ।