काठमाडौं | चीनमा हाल देखिएको मानव मेटाप्न्युमोभाइरस (एचएमपिभी) संक्रमणको प्रकोपलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि यसको सम्भावित जोखिमबारे चेतावनी दिएको छ। मन्त्रालयले सर्वसाधारणलाई यस भाइरसबाट जोगिन सतर्क रहन र आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ।
मानव मेटाप्न्युमोभाइरस (hMPV) एउटा भाइरस हो, जसले श्वासप्रश्वास प्रणालीमा समस्या ल्याउन सक्छ। सामान्यतया, यो भाइरसले बालबालिका, वृद्धवृद्धा, र पहिले नै स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई बढी असर पुर्याउने सम्भावना रहन्छ। यस भाइरसका लक्षणहरूमा ज्वरो आउने, खोकी लाग्ने, र श्वासप्रश्वासमा कठिनाई हुनेजस्ता समस्या देखिने मन्त्रालयले जारी गरेको विज्ञाप्तिमा भनिएको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा यस भाइरसको प्रकोप देखिएको छैन। तर, सावधानी अपनाउनका लागि स्वास्थ्य संस्थाहरूलाई निगरानी र आवश्यक तयारी अवस्थामा राखिएको छ। सम्भावित संक्रमणलाई समयमै नियन्त्रण गर्न परीक्षण र निगरानीको व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य समस्या देखिएमा नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै मन्त्रालयले हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
चीनमा देखिएको संक्रमणलाई ध्यानमा राख्दै नेपालमा पनि उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ। महामारीको सम्भावित जोखिमलाई रोक्नका लागि मन्त्रालयले सबैलाई सहयोग र सचेतना अपनाउन आह्वान गरेको छ।