काठमाडौं | सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर गरिएको धनुर्मास पूजापछि बुधबार दिनभर बन्द रहेको मन्दिर बेलुकी आरतीका लागि खुला गरिएको छ ।
मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज बिहान दर्शनका लागि आएका भक्तजनलाई दर्शन गर्न दिएपछि अपराह्नपछि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।
बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । परम्पराअनुसार मङ्गलबार राति १२ बजेदेखि बुधबार बिहानसम्म धनुर्मास पूजा गरिएको कोषका सदस्य सचिव मिलनकुमार थापाले राससलाई जानकारी दिए ।
धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइएको थियो । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिएको छ । आज मध्याह्न १२ बजेदेखि बन्द गरिएको मन्दिर अहिले बेलुकीदेखि भने भक्तजनका लागि खुला गरिएको उनले सुनाए ।