टोकियो । जापान सरकार टोकियो महानगर क्षेत्रको अत्यधिक जनघनत्व जसरी भएपनि घटाउने प्रयासमा छ । यही प्रयास अन्तर्गत सरकारले टोकियोबाट बसाई सरेर अन्यत्र जाने घरपरिवारलाई एक बालबालिका बराबर १० लाख येन (७ हजार ५०० डलर) दिने भएको छ । यस अघि भने बालबालिकै पिच्छे ३ लाख येन मात्रै दिइन्थ्यो ।
जापानले यस अघि नै महानगरीय क्षेत्रबाट बसाई सरेर जानेलाई वित्तीय टेवा अन्तर्गत अधिकतम् ३० लाख येन दिँदै आएको थियो । नयाँ नियम अप्रिलमा शुरु हुने आर्थिक वर्षदेखि लागू हुने बुधबार यस मामिलासँग जानकार स्रोतले बताएको भन्दै क्योदो न्यूजले समाचार छापेको छ । टोकियोको २३ ओटामा बस्ने मात्रै होइन टोकियो आसपासका साइतामा, चिबा र खानागावा प्रिफेक्चरमा बस्नेहरुले पनि यो बसाई सराई टेवा कार्यक्रमका लागि योग्य हुनेछन् ।
बसाइँ सराइ हुने नगरपालिका महानगर र अपस क्षेत्रभन्दा बाहिरको हुनुपर्छ । तर टोकियो र आसपासका पहाडी क्षेत्रलाई पनि यो योजनामा समावेश गर्न सकिने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा बसाई सराई टेवा कार्यक्रममा करिब एक हजार ३ सय नगरपालिकाले सहभागिता जनाएका छन् । सहयोग पाउने परिवारका सदस्यहरू यस योजनामा सहभागी हुन नगरपालिका क्षेत्रमा कम्तिमा ५ वर्षको लागि कार्यरत हुनुपर्छ।
निर्धारित समय नबित्दै बसाई सर्नेसँग पैसा फिर्ता मगिनेछ । शिशु स्याहार टेवा १८ भन्दा कम उमेरका बालबालिका भएका परिवारलाई दिइनेछ । बालबालिका १८ वर्ष वर्षको छ र माध्यमिक विद्यालयको अन्तिम वर्षमा अध्ययन गरिरहेको छ भने चाँहि टेवा पाउनेछ । यो कार्यक्रमले माध्यमिक तह वा सो भन्दा तल्लो तहका विद्यालयमा पढिरहेका बालबालिका भएका घरपरिवारलाई ग्रामीण वा उपशहरी क्षेत्रमा बसाई सरेर जानका लागि प्रेरित गर्ने सरकारको आशय छर्लङ्ग पारेको छ ।
१८ वर्ष भन्दा कम उमेरका २ बालबालिका भएका दम्पत्ति बसाई सरेर र नयाँ क्षेत्रमा व्यवसाय शुरु गर्दै छन् भने उनीहरुले ५० लाख येनसम्मको थप वित्तीय सहयोग पनि पाउनेछन् । यस्तो खालको कार्यक्रम २०१९ मा शुरु भएको थियो । यो कार्यक्रम मार्फत आव २०२१ मा २ हजार ३८१ जना महानगरीय क्षेत्र बाहिर गएका छन् ।