साहित्यढुङ्गोको कथा, जीवनको सत्य

ढुङ्गोको कथा, जीवनको सत्य

  •  प्रमिला घिमिरे

ढुङ्गा नै त हो त्यो,
कसैले शालिग्राम ठानेर पूज्छन्,
कसैले मूर्ति बनाएर बजारमा बेच्छन्,
कसैले सिलौटो बनाएर मसला पिस्छन्।
एउटै वस्तुको भिन्नभिन्न रूप, भिन्नभिन्न प्रयोग—
सबै कुरा समय र स्थानमा भर पर्छ।

जीवन पनि हो त्यस्तै—
एउटा ढुङ्गो जस्तै।
यदि ठिक समयमा, उचित ठाउँमा पर्‍यो भने
त्यो ढुङ्गो मूर्ति बन्न सक्छ—
पूजिने, सम्मानित हुने।
तर यदि दुर्भाग्यवश सिलौटो बनाइयो भने,
त्यो अरूको सेवामा खटिन्छ—
पिसिन्छ, घिसिन्छ,
र कहिल्यै मुक्त हुन सक्दैन।

जीवन यस्तै घिसीटो बन्छ,
जब अवसर नपाउँछ, आवाज सुन्ने कोही हुँदैन।
दुःख, पीडा, रोग, शोक र भोक—
यी सबले थिचिरहन्छन्।

नयाँ बाटाहरू बन्द हुन्छन्,
जहाँ हिम्मती, साहसी, सामन्त, बुद्धिजीवी र
ठालुहरूकै रजगज हुन्छ।
त्यही समाजमा,
सर्वहारा, निमुखा, गरिब जनताहरू
सधैं खाल्टोमै गाडिन बाध्य हुन्छन्।
एक छाक खानका लागि धौधौ पर्ने
त्यही विडम्बनालाई यो कथा बोल्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img