काठमाडौँ– यस वर्षको ‘जनकल्याण प्रतिभा पुरस्कार’ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।
थापाथली जनकल्याण परिवारको ३३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो पुरस्कार आविष्कारका अध्यक्ष महावीर पुनलाई प्रदान गरे । पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।
त्यसैगरी रु २० हजार राशिको यस वर्षको ‘लीलाजङ्ग सिजापती जनकल्याण पुरस्कार’ समाजेवी भवानी कोइरालालाई प्रदान गरिएको छ । ‘युगनाथ जनकल्याण पुरस्कार’ मुस्कान सेवा नेपाललाई, ‘क्याप्टेन गोपालप्रसाद जनकल्याण पुरस्कार’ सङ्गीतकार रवि रानामगर र ‘स्व नन्दलाल जोशी जनकल्याण पुरस्कार’ समाजसेवी दिलबहादुर ओलीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु १५ हजार, रु १० हजार र रु सात हजार ५०० रहेको छ ।
समाजसेवी लाल तण्डुकारलाई रु पाँच हजार राशिसहित सम्मान गरिएको छ । जनकल्याणले विभिन्न विद्यालयमा अध्ययनरत करिब ३० विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्तिसमेत प्रदान गरेको छ ।
सोही अवसरमा मन्त्री रेग्मीले ज्येष्ठ नागरिकले आर्जन गरेको सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने र त्यसलाई नयाँ पुस्ताले सहजरूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालय सुधारको आवश्यकता औँल्याए ।