सीमाचोकनजिकै एउटा साघुँरो गल्ली छ । अखण्ड मार्गको यो गल्लीमा एउटा चिया पसल छ । बुद्धिबहादुर श्रेष्ठले साँघुरो कुनामा चिया पसल चलाएका थिए ।
उनलाई सबैले ‘जेठा दाई’ भनेर चिन्छन् । उनको वास्तविक नाम कमैलाई मात्र थाहा छ । चिया बेचेरै बनाएको नाम हो जेठा दाई । बिहान सबेरै उठेर चिया पाउन सरसामानको जोरजाम गर्नु र हेटौँडा बजारभित्र अर्डर आएको ठाउँमै चिया पुर्याउनु उनको दैनिकी थियो । उक्त गल्लीमा धेरै चिया पिउने जम्मा हुन्छन् । चिया पारखीहरूको भिड जम्मा हुन्थ्यो अखण्ड मार्गमा ।
श्रेष्ठले ३६ वर्षदेखि त्यही गल्लीमा चिया बेचे । उनको चियाका पारखी बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, संविधानसभा सदस्य प्रल्हाद लामिछानेदेखि प्रदेश सांसद प्रेमबहादुर पुलामीसम्म छन् ।
नेताहरू बिहान र साँझ यही चिया पसलमा भेटिन्थे । पौडेल मुख्यमन्त्री हुनुअघिसम्म बिहान सबेरै यहाँ चियान खान आउने गरेको चर्चा अहिले पनि छ । विपन्न परिवारमा जन्मिएका जेठा दाईको जीवन चिया बेचेरै बदलियो । बिहान खाए बेलुकाको छाक कसरी टारौँ भन्ने कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका जेठा दाई चिया बेचेरै करोडपति बने ।
चिया बेचेर करोडौँ सम्पत्तिको मालिक बनेका उनै जेठा दाईको आइतबार दुर्घटनामा परी मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा भारतीय ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेवारपानीमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेका करिब ६० वर्षीय जेठा दाईको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल–०१ एन २९९९ नम्बरको भरतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिएको प्रहरीले जनाएको छ ।