Friday, January 17, 2025
देशबागमती प्रदेशनिगमको ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजना पक्राउ

निगमको ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजना पक्राउ

मकवानपुर | नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगन्जबाट काठमाडौंको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा डिजेल लैजाँदै गरेको ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा तेल ढुवानीमा प्रयोग भएको ना ७ ख २७९४ नम्बरको ट्यांकरचालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– ११ श्रीपुरका ४९ वर्षीय आलम हवारी र भारत मोतिहारी श्रीरामपुरघर भई हेटौँडा–९ नवदुर्गा आयल स्टोरमा काम गर्ने ३० वर्षीय वीरेन्द्र साह रहेका छन्।

“उनीहरूले ट्यांकरबाट करिब ४० लिटर डिजेल निकालेको अवस्थामा पक्राउ गरिएको हो,” जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले भने। पक्राउ परेकाहरूलाई तेल ट्यांकरसहित काठमाडौंस्थित थानकोट डिपो पठाउने तयारी भइरहेको उनको भनाइ छ।

निगमको अमलेखगन्ज डिपो प्रमुख विनीतमणी उपाध्यायले २० हजार लिटर डिजेल लोड गरेर ट्यांकरमा आधुनिक लकिङसमेत लगाएर पठाएको बताए। “ट्यांकरमा तेल हालेर लकिङसमेत लगाई डिपोबाट पठाएका थियौँ। बीच बाटोमा कसरी तेल झिकेर चोरी भयो भन्ने कुरा हाम्रो पनि अनुसन्धानको विषय भएको छ,” उनले भने।

अमलेखगन्ज डिपोले निगमको बागमती प्रादेशिक कार्यालय थानकोटका लागि सो डिजेल पठाएको थियो। अमलेखगन्जसम्म पाइपको सहायताले आयात भएको डिजेल ट्यांकरमा राखेर काठमाडौंको थानकोट डिपो पठाउने गरिएको छ।

अमलेखगन्जले ताला लगाएर पठाएको ट्यांकरको ढक्कन खोल्ने साँचो निगमको थानकोट डिपोमा मात्र हुने गर्दछ। निगमले ०७४ यता सुरक्षित इन्धन ढुवानीका लागि इन्डियन आयल कर्पोरेसन (आइओसी) संगको सहकार्यमा आधुनिक लकिङ जडान गरे पनि चोरी रोकिएको छैन।

प्रहरीले बढी अनुसन्धान गरी अन्य संलग्नहरूलाई पनि पक्राउ गर्ने तयारी गरिरहेको छ। यस्तो घटनाले इन्धन आपूर्तिमा समस्या भए पनि निगमले थप सतर्कता अपनाउने जनाएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img