Thursday, March 27, 2025
अर्थ व्यापारदोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न, ६ करोडको कारोबार

दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न, ६ करोडको कारोबार

निर्माण व्यवसायीहरू समस्यामा छन् : अध्यक्ष सिंह

हेटौँडा | औद्योगिक शान्ति नेपाल संस्थाको सहकार्यमा निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। फागुन ६ गतेदेखि सुरु भएको महोत्सव आइतबार समापन भएको हो। आयोजकका अनुसार महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ता पुगेका थिए भने ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

हेटौँडाको टीसीएन चौरमा आयोजना गरिएको महोत्सवको मुख्य उद्देश्य निर्माण व्यवसायलाई प्रवर्द्धन गर्नु, निर्माण सामग्री तथा उपकरणहरूलाई व्यापक प्रचारप्रसार गर्नु, तथा व्यवसायीहरूलाई नयाँ प्रविधिसँग जोड्नु रहेको आयोजकले जनाएको छ। महोत्सवमा निर्माण क्षेत्रमा प्रयोग हुने अत्याधुनिक उपकरण तथा निर्माण सामग्रीको प्रदर्शनी र विक्री प्राथमिकतामा राखिएको थियो।

त्यस्तै, महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिएका थिए। दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, दैनिक उपभोग्य सामानको प्रदर्शनी, सामुन्द्रिक माछाहरूको वृहत् प्रदर्शनी, बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन प्रदर्शन, सूचना प्रविधि प्रदर्शनी र बालबालिकाका लागि विशेष मनोरञ्जनात्मक उद्यान महोत्सवका मुख्य आकर्षण बने।

हेटौँडा आइडल : दीपाको जित

महोत्सवको विशेष आकर्षणमध्ये एक “हेटौंडा आइडल” गायन प्रतियोगिता पनि रह्यो। दीपा स्याङ्तानले हेटौंडा आइडलको उपाधि जित्दै नगद ५१ हजार १५१ रुपैयाँ पुरस्कार हात पारिन्।  प्रतियोगितामा सहभागी ३५ प्रतिस्पर्धीमध्येबाट प्रि-अडिसन चरण पार गर्दै १६ जना फाइनलमा पुगेका थिए। निर्णायकहरूको मूल्यांकन र दर्शकको भोटका आधारमा स्याङ्तानले उपाधि जितेकी हुन्।

प्रतियोगितामा सुशान शाही ठकुरी दोस्रो, दिलिप लामा तेस्रो, प्रकाश वाइबा चौथो र शुक्र महर्जन पाँचौँ स्थानमा रहे।

दोस्रो स्थान हासिल गरेका ठकुरीले २५ हजार १५१ रुपैयाँ, तेस्रो स्थानमा रहेका लामाले १५ हजार १५१ रुपैयाँ, चौथो र पाँचौँ स्थानमा रहनेले ५ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

निर्णायकका रूपमा मकवानपुरका गायक, संगीतकार कृष्णगोपाल सिंह, सुनिता बुर्लाकोटी लुइँटेल र ईश्वर खड्का रहेका थिए।

महोत्सवले निर्माण सामग्री उत्पादक, विक्रेता र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्कको अवसर प्रदान गरेको आयोजकको दाबी छ। साथै, व्यवसाय वृद्धिको अवसर, गुणस्तरीय प्रतिस्पर्धाको विकास तथा बजार प्रवर्द्धनमा पनि महोत्सव प्रभावकारी बनेको बताइएको छ।

महोत्सवको समापन समारोह निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कंडेलले महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद व्यक्त गरे।

“हामीले निर्माण व्यवसायी संघको नयाँ भवन निर्माण गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरेका थियौं। केही अन्यौलका बीच पनि महोत्सव शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न सफल भयौं। अब महोत्सवबाट बचत भएको रकम संघको नयाँ भवन निर्माणमा लगानी गर्नेछौं,” उनले भने।

समापन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, निर्माण व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष खड्ग गोपाली, नेपाली कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठक, हेटौंडा ११ नम्बर वडाध्यक्ष जुना दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर लगायतका व्यक्तित्वहरूले मन्तव्य व्यक्त गरेका थिए।

गृहमन्त्री रमेश लेखकले महोत्सवको उद्घाटन गर्दै नेपालको निर्माण व्यवसाय क्षेत्रलाई अझ व्यवस्थित बनाउन आवश्यक नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

निर्माण व्यवसायीहरू समस्यामा छन् : अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालका निर्माण व्यवसायीहरू अहिले गम्भीर संकटमा परेको बताएका छन्।

“हामीले काम गरेबापतको भुक्तानी समयमा पाइरहेका छैनौं। अर्कोतिर सिमेन्ट, छड, बालुवा लगायतका निर्माण सामग्रीको मूल्य अनियन्त्रित रूपमा बढिरहेको छ। यसले गर्दा व्यवसायीहरू दोहोरो मारमा परेका छन्,” उनले भने।

सिंहले नेपालमा निर्माण सामग्रीमा कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गरिँदै आएको आरोप लगाए। “नेपालमा विश्वभर सफल भएका निर्माण व्यवसायीहरू आएर पनि असफल भइरहेका छन्। यहाँको नीति, वातावरण र राज्यको असहयोगले गर्दा निर्माण क्षेत्र निकै कठिन अवस्थामा पुगेको छ,” उनले थपे।

उनले नेपालमा पूर्वाधार विकासलाई प्राथमिकता दिनु आवश्यक रहेको बताउँदै विकासमैत्री नीति तथा कानुन नभएसम्म नेपालमा ठूला निर्माण कार्य समयमा सम्पन्न नहुने चेतावनी दिए।

त्यस्तै, उनले राजनीतिक नेतृत्वहरूले स्रोतको सुनिश्चितता बिना नै निर्वाचन क्षेत्र लक्षित योजना ल्याउने गरेको आरोप लगाए।

“निर्माण व्यवसायीहरूले सामाजिक उत्तरदायित्व बहन गर्न सक्षम छन् भन्ने कुरा यो महोत्सवले प्रमाणित गरेको छ। आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव सफल रह्यो। लुकेर बसेका प्रतिभाहरूलाई समेत महोत्सवले राम्रो अवसर प्रदान गरेको छ,” उनले थपे।

दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवले व्यवसाय प्रवर्द्धन, उपभोक्तासँग प्रत्यक्ष सम्पर्क, र बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। ६ करोड रुपैयाँ बराबरको कारोबार, एक लाखभन्दा बढी अवलोकनकर्ता, र निर्माण व्यवसायमा देखिएको समस्या महोत्सवका प्रमुख विषय बने। आयोजकले आगामी वर्षहरूमा पनि यस्ता महोत्सव निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img