हेटौँडा | एक सय आठ जना सेयर सदस्य रहेको मकवानपुरगढी–६ डुम्रेकुनामा मुख्य कार्यालय रहेको कार्ड्स कर्पोरेसन कम्पनीमा वित्तीय अनियमितता भएको आरोप लागेको छ। कम्पनीका सेयर सदस्यहरूले अध्यक्ष मोहनबहादुर कार्की क्षेत्रीमाथि मिलेमतोमा ठगी, भ्रष्टाचार र आर्थिक हेरफेर गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा अध्यक्ष कार्कीले कम्पनीको सम्पत्ति सदस्यलाई जानकारी नदिई बिक्री गर्नुका साथै कम्पनीको फन्ड दुरुपयोग गरेका छन्।
सदस्यहरूको दाबी अनुसार, कम्पनीको नाममा रहेको मकवानपुरगढी–६ डुम्रेकुनास्थित जग्गा सेयर सदस्यलाई जानकारी नै नदिई बिक्री गरिएको छ। सो जग्गा बिक्रीसम्बन्धी मुद्दा अहिले न्यायालयमा विचाराधीन छ भने सोबाट प्राप्त सम्पूर्ण रकम कम्पनीको खातामा नपुगेको आरोप लगाइएको छ। यसले सदस्यहरूको लाखौँ रुपैयाँ नोक्सानी भएको दाबी उनीहरूले गरेका छन्। सेयर सदस्य लालबहादुर हमालले भने, “अध्यक्ष कार्कीले हामीलाई जानकारी नदिई कम्पनीको जग्गा बेचेका छन्। यो ठगी हो। हामी कानूनी रूपमा अघि बढ्छौँ।”
त्यस्तै, कम्पनीको सुनवलस्थित शाखामा बाख्रा बिक्रीबाट उठेको रकम विगत तीन वर्षदेखि असुल नभएको र “खाली चेक” लिएर कारोबार गरिएको आरोप लगाइएको छ। सदस्यहरूको भनाइमा बाख्रा बिक्रीबाट प्राप्त लाखौँ रुपैयाँ कम्पनीको खातामा पुगेको छैन। साथै, कम्पनीमा रहेका भैंसीको दूध र गोबरसमेत पारदर्शी हिसाबले प्रयोग नभएको, बिक्री विवरण स्पष्ट रूपमा प्रस्तुत नगरिएको सदस्यहरूको गुनासो छ। सेयर सदस्य रामकुमार राईका अनुसार, “अध्यक्ष कार्कीले भैंसी ल्याएको विवरण मात्र देखाएका छन्, तर बिक्री विवरण प्रस्तुत गर्न असफल भएका छन्।”
मनिष झा, रामकुमार राई, रामनारायण गैतम, चन्द्र फुलेल र लालबहादुर हमाललगायतका सदस्यहरूले इन्फो नेपालसँगको कुराकानीमा कम्पनीको आर्थिक गतिविधि पारदर्शी नभएको, तथ्याङ्क नदिइ सदस्य ठगिएको र सम्पत्ति व्यवस्थापनमा लापरबाही भएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले सम्बन्धित निकायमार्फत छानबिनको माग गर्दै भनेका छन्, “कम्पनीमा भएका सम्पूर्ण गतिविधि सार्वजनिक पारिनुपर्छ, अध्यक्षले जवाफ दिनुपर्छ।”
यसबारे छानबिन गर्न सेयर सदस्य श्री लामाको अध्यक्षतामा गठित आर्थिक पारदर्शिता समितिले पनि कम्पनीमा घोटाला भएको निष्कर्ष निकालेको बताइएको छ। समितिको प्रतिवेदनमा इलाम र सुर्खेत शाखाको व्यवस्थापनसमेत गैरजिम्मेवारीपूर्ण भएको उल्लेख छ। साथै, सञ्चालक समितिका केही सदस्यहरू विदेशमा बस्ने भएकाले व्यवस्थापनमा कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ।
सुरुवातमा २९ जना सदस्यबाट सञ्चालित कम्पनीमा अहिले एक सय आठ जना सेयर सदस्य पुगेका छन्। कृषि तथा पशुपालनलाई मुख्य व्यवसाय बनाएको कम्पनी निरन्तर घाटामा रहेको र अध्यक्ष कार्कीले व्यवस्थापनमा लापरबाही गरेको सदस्यहरूको आरोप छ।
यसबारे प्रतिक्रिया दिँदै अध्यक्ष मोहनबहादुर कार्की क्षेत्रीले भने, “कम्पनी निजी हो र संचालन समितिले नै सबै निर्णय गर्छ। एकाउन्टेन्ट छ, सबै हिसाब–किताब कम्प्युटरमा छ। मैले आफैं कुनै चेकमा साइन गरेको छैन।” उनले कम्पनीमा आर्थिक समस्या रहेको स्वीकार गर्दै थपे, “दूधबाट आम्दानी एक लाख ४० हजार हुन्छ भने खर्च दुई लाख २० हजार हुन्छ। महिनाको ६०–७० हजार घाटा हुन्छ, जुन कृषि व्यवसायको स्वभाव हो।”
कार्कीले कम्पनी बेच्ने प्रक्रिया अघि बढेको उल्लेख गर्दै भने, “सहकारीसँग कुरा भइसकेको छ। बिक्री–वितरण समिति बनेको छ। सम्पूर्ण सम्पत्ति बिक्री गरेर सेयर सदस्यलाई बाँडिनेछ।”
तर, सेयर सदस्यहरूले भने कानूनी कदम चालेर छानबिन गर्न र अध्यक्षलाई जवाफ दिन बाध्य बनाउने तयारी गरेका छन्। उनीहरूले सरकारी निकायलाई समेत औपचारिक जानकारी दिने तयारी गरेका छन्।



