मकवानपुर | मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमार चौरमा माघ १२ गते शनिबार सोनाम ल्होछार पर्व भव्यताका साथ मनाइने भएको छ। नेपाल तामाङ घेदुङ गाउँपालिका कार्यसमितिको आयोजनामा राष्ट्रिय कलाकारहरूको साथमा यो पर्व आयोजना गरिन लागेको हो।
विहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै समितिका अध्यक्ष सानोकान्छा थिङले तामाङ समुदायले मान्ने ल्होछार पर्वको अवसरमा कला र संस्कृतिलाई प्रवर्द्धन गर्न यो विशेष कार्यक्रम आयोजना गरिएको बताए। यस वर्ष तामाङ नयाँ वर्ष २८६१ ‘सर्प’ (डुल/सा पुख्री) सुरु हुने भएको छ।
अध्यक्ष थिङले तामाङ भेषभूषा, संस्कृति, मौलिक संस्कार, र भाषाको संरक्षण र प्रवर्द्धन कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। कार्यक्रममा गायन र नृत्य प्रस्तुतिहरू, तामाङ ताम्बा तथा लामाको झाँकी प्रदर्शन, भेषभूषा र खानाका स्टलसमेत राखिनेछ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरू प्रकाश तितुङ, रेश्मा भोम्जन, फूलकुमार भोम्जन, एलिना रायमाझी लगायतका प्रस्तुति रहनेछ। साथै, स्थानीय कलाकारहरूको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकले जनाएका छन्।
पत्रकार सम्मेलनमा गाउँ कार्यसमितिका सल्लाहकार राजकुमार गोले, जिल्ला कार्यसमितिका सदस्य आकाश गोले, गाउँ कार्यसमितिका उपाध्यक्ष विक्रम योन्जन, र नेपाल पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारीलगायत पदाधिकारीहरूको उपस्थिति थियो।