हेटौंडा | हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ लाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने तयारी भएको छ। वडाध्यक्ष सुशील घिमिरेका अनुसार माघ ५ गते शनिबार, नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा घोषणा समारोह आयोजना हुनेछ।
वडाध्यक्ष घिमिरेले बालश्रम न्यूनिकरणको अभियान अन्तर्गत होटल, ग्यारेज र ग्रील उद्योगमा कार्यरत ७ जना बालकको उद्दार गरिएको जानकारी दिए। “तराई क्षेत्रका र भारतीय बालकहरूको उद्दार गरी उनीहरूलाई सुरक्षित स्थानमा पुर्याएका छौं,” उनले भने। साथै, मनहरीका दुई बालविवाह रोक्न सफल भएको र अभिभावकको जिम्मा लगाइएको वडाध्यक्षले बताए।
२०७९ मंसिरबाट सुरु भएको बालमैत्री अभियानअन्तर्गत वडामा हालसम्म २४ वटा बाल समूहमा ६ सय बालबालिका आबद्ध भइसकेका छन्। सामुदायिक, संस्थागत विद्यालय र बालविकास केन्द्र गरी ९ वटा शैक्षिक संस्था सक्रिय रहेका छन्।
नगर बाल सहजकर्ता सपना ढुङ्गानाका अनुसार, वडामा २,०१६ बालक र १,७८२ बालिका रहेका छन्। ५१ वटा सूचकहरूमध्ये ४७ सूचकहरूमा १००% उपलब्धि हासिल भएको छ भने बाँकी ४ सूचकहरूमा न्यूनतम आवश्यकता पूरा गरिएको छ।
वडाले यसअघि पूर्ण खोप वडा, पूर्ण साक्षर वडा, र खुला दिशामुक्त वडा घोषणा गरिसकेको वडा सदस्य ज्ञानबहादुर थापाले जानकारी दिए। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र कार्यविधि २०७९ को मार्गदर्शनअनुसार अभियानलाई अगाडि बढाइएको छ। यसका लागि वडाले १ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
२०७९ सालको घरधुरी सर्वेक्षण अनुसार वडा नम्बर ५ मा २,८७५ घरधुरी र १४,१२७ जनसंख्या रहेको छ। वडा ६.०७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।