हेटौंडा | पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका दुर्गम विद्यालयमा अध्ययनरत सहयोगापेक्षी विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ। डिभाइन युथ क्लब नेपाल हेटौंडा र जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको संयुक्त आयोजनामा ६६ विद्यार्थी लाभान्वित भएका छन्।
मंगलबार बागमती गाउँपालिका–३ अन्तर्गतका श्री फुलमन्दिर, श्री जनश्रम, र श्री जनप्रभात आधारभूत विद्यालयका विद्यार्थीलाई स्वीटर, टोपी, जुत्ता, झोला, र कपी वितरण गरिएको हो। कार्यक्रमले चिसोका कारण पठनपाठनमा देखिने समस्या समाधान गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका प्रवक्ता कमान सिं पाख्रीनले उक्त क्षेत्रलाई मकवानपुरकै सबैभन्दा दुर्गम क्षेत्रका रूपमा चित्रण गर्दै विकासको गति बढाउन वडाको प्रयास जारी रहेको बताए। “पहिले औलोको त्रासका कारण मानिसहरू लेकमा बसाई सरेका थिए। अहिले यो क्षेत्र झनै विकट देखिन्छ,” उनले भने। उनले मानव कल्याण हेतु गरिएको सामाजिक कामका लागि धन्यवाद समेत व्यक्त गरे ।
डिभाइन युथ क्लब नेपालले सामाजिक कल्याणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै यस्तो सहयोगात्मक कार्य गर्दै आएको छ। बालबालिकाको चिसो र शैक्षिक सामग्रीको अभावले उनीहरूको पढाइमा बाधा नपरोस् भन्ने मुख्य उद्देश्य रहेको क्लबले जनाएको छ ।
सामाजिक र शैक्षिक समस्याहरू समाधान गर्न यस प्रकारका कार्यक्रमहरूले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्दै गएका छन्।