काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)भित्र घाँस काट्न वार्षिक ८८ लाख ४४ हजार रुपैयाँ खर्च हुने भएको छ। विमानस्थलको धावनमार्ग, ट्याक्सीवे, एप्रोन, र अन्य क्षेत्रमा घाँस व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले यो ठेक्का मकवानपुरको शिवभक्त पार्वती निर्माण सेवालाई दिएको छ।
इबिडिङ प्रणालीमार्फत सार्वजनिक खरिद ऐन २०६३ अनुसार गरिएको छनोट प्रक्रियाबाट यो ठेक्का स्वीकृत गरिएको प्राधिकरणले जानकारी दिएको छ। विमानस्थलको दैनिक सञ्चालनलाई प्रभावकारी बनाउँदै सुरक्षालाई मजबुत बनाउन घाँस व्यवस्थापनमा ठेक्का लगाइएको हो।
यसका साथै प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवन मर्मतका लागि २ करोड ५६ लाख रुपैयाँको अर्को ठेक्का रामेछाप पीआर जेभी पेप्सीकोलालाई दिएको छ। यो ठेक्काअन्तर्गत टर्मिनल भवनको संरचना मर्मत र अन्य प्राविधिक काम गर्नुपर्नेछ।
धावनमार्गको अन्य सुधारका लागि पनि ठेक्का स्वीकृत गरिएको छ। धावनमार्गमा रबर हटाउने र अन्य प्राविधिक कामका लागि प्यागोडा इन्फ्रा कन्स्ट्रक्सनलाई ९ करोड २८ लाख रुपैयाँको ठेक्का दिइएको छ।
यसरी विमानस्थलको नियमित मर्मत, व्यवस्थापन, र सुधारका लागि कुल करोडौं रकम छुट्याइएको छ। यद्यपि, घाँस व्यवस्थापनमा मात्रै यति ठूलो रकम छुट्याइएको विषयले आम नागरिकको ध्यान खिचेको छ। विमानस्थलको व्यवस्थापनमा यस्ता खर्चले सुधार ल्याउने अपेक्षा गरिए पनि यस्तो ठूला रकमका ठेक्काहरूको पारदर्शिताप्रति सरोकारवालाले चासो व्यक्त गरेका छन्।
त्रिभुवन विमानस्थल नेपालको सबैभन्दा महत्त्वपूर्ण हवाई प्रवेशद्वार हो। त्यसैले यसको सुरक्षासँगै व्यवस्थापनलाई विशेष प्राथमिकता दिनुपर्नेमा प्राधिकरणले बारम्बार जोड दिएको छ।