हेटौँडा | मकवानपुर प्रहरीले मनहरीबाट ठूलो मात्रामा लागूऔषधसहित एक सुमो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीले ६ किलो १६० ग्राम अफिम, १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) र ३१ किलो ५६० ग्राम गाँजा बरामद गरेको हो।
१० फागुनमा इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीको संयुक्त टोलीले पूर्वपश्चिम लोकमार्गको मनहरी–६ नयाँ बस्तीमा साइड लगाएर रोकिएको बा ७ च ७०१८ नम्बरको सुमो गाडी जाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो। सुमोको पछाडि सिटमुनि लुकाइएको अवस्थामा लागूऔषध भेटिएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–९ का लालबहादुर तामाङ (३८) छन्, जो हाल काठमाडौं पेप्सीकोलामा बस्दै आएका थिए। उनी घटनापछि फरार भए पनि प्रहरीले १३ फागुनमा काठमाडौं जोरपाटीबाट पक्राउ गरी सार्वजनिक गरेको हो।
बसामाडीबाट अर्को पक्राउ, ११ किलो गाँजा बरामद
यसैबीच, मकवानपुर प्रहरीले हेटौंडा–३ बसामाडीस्थित लेवटबाट ११ किलो ४२० ग्राम गाँजासहित ४४ वर्षीय दीपक ओझालाई पक्राउ गरेको छ। पूर्वपश्चिम लोकमार्गमा सवारी जाँचका क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ४ ख ३९३५ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा ओझाको झोलामा लुकाइ राखिएको गाँजा फेला परेको थियो।
पक्राउ परेका दुवैलाई मकवानपुर जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।