हेटौँडा । नारायणी यातायात व्यवसायी संघको ३६औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन आगामी फागुन १७ गते शनिबार हेटौंडाको पल्पसा हलमा आयोजना हुने भएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरूले कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा रहने जानकारी गराए।
संघका महासचिव सरोजकुमार खनालका अनुसार साधारण सभाको अवसरमा नेपाल मेडिसिटी अस्पताल, काठमाडौंका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा किड्नीसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ। यातायात व्यवसायी र स्थानीय नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी संघले यो पहल गरेको खनालले बताए।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष हिरालाल श्रेष्ठले संघ सेवामूलक संस्था भए पनि सरकारले तोकेको कर नियमित रूपमा तिर्दै आएको बताए। हाल संघ आर्थिक अभावको सामना गरिरहेको उल्लेख गर्दै उनले व्यवसायिक वातावरणलाई सरल बनाउन सरकारको साथ आवश्यक रहेको धारणा राखे।
संघले यातायात व्यवस्थापन, व्यवसायीहरूको हकहित तथा यात्रु सुविधासँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्न साधारण सभाको आयोजना गरेको हो। कार्यक्रममा संघका पदाधिकारीहरू, यातायात व्यवसायी, सरकारी अधिकारीहरू तथा सरोकारवाला निकायहरूको उपस्थिति रहने जनाइएको छ।