हेटौँडा | हेटौँडामा आज बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरले आयुर्वेद सेवाको प्रबर्द्धन गर्न सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य आयुर्वेद सेवाका बारेमा जनमानसमा जानकारी पुर्याउनु रहेको छ।
अन्तरक्रिया कार्यक्रममा आयुर्वेदिक सेवाहरु, आयुर्वेदिक कार्यक्रम, आयुर्वेद विधिबाट स्वस्थ रहने उपाय, मनोपरामर्श, योग लगायतका विषयमा छलफल गरिएको छ। चिकित्सालयकी प्रमुख डा. ललिता पाण्डेले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरिने विभिन्न कार्यक्रमहरूको जानकारी दिइन्।
चिकित्सालयले प्रदान गर्ने सेवाहरूमा बहिरङ्ग सेवा, निःशुल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्वकर्म पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श, पथ्य आहार कार्यक्रम, जेष्ठ नागरिक सेवा, र अकुपञ्चर सेवा रहेका छन्। हालसम्म १७ हजार ६ सय ८० जनाले यस चिकित्सालयबाट सेवा लिइसकेका छन्।
चिकित्सालय मातहतका अन्य कार्यालयहरू समेत गरी कुल ३२ हजार ९ सय ९१ जनाले उपचार सेवा लिइसकेका छन्। कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयकी प्रमुख डा. ललिता पाण्डे, जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी सूर्य प्रसाद चापागाईं, आयुर्वेद कन्सल्टेन्ट साइरस न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मनिराज गौतम लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
यस अन्तरक्रिया कार्यक्रमले आयुर्वेद सेवाको महत्व र उपलब्धताबारे जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।