Sunday, February 16, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौँडा १ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

हेटौँडा १ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

हेटौँडा | हेटौंडा उपमहानगरपालिका वडा नं. १ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारी पूरा भएको छ। बालबालिकामा लगानी गर्दै भविष्यलाई सुनिश्चित गर्ने उद्देश्यसहित माघ ११ गते शुक्रबार औपचारिक कार्यक्रम गरी यो घोषणा गरिने भएको छ।

नेपाल सरकारले २०८७ सम्म देशभरका सबै स्थानीय तहलाई बालमैत्री स्थानीय तहको रूपमा घोषणा गर्ने लक्ष्य राखेको छ। यसै सन्दर्भमा, हेटौंडा उपमहानगरपालिकाले २०७९ साल भाद्र ५ गते सरोकारवालाहरूको उपस्थितिमा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। त्यसपछि १ नं. वडाले पनि २०७९ साल मंसिर ११ गते औपचारिक रूपमा बालमैत्री अभियानको शुरुवात गरेको थियो। वडामा बाल अधिकारका मुख्य चार पक्ष— बाल बचाऊ, बाल संरक्षण, बाल विकास, र बाल सहभागिता सुनिश्चित गर्न ५१ वटा सूचकहरूको आधारमा कार्य अघि बढाइएको छ।

नेपाल सरकारले तोकेका ५१ सूचकहरूमध्ये ४७ सूचकमा १००%, १ सूचकमा ९६%, १ सूचकमा ९०%, १ सूचकमा ८५%, र १ सूचकमा ८२% नतिजा प्राप्त गर्दै वडा घोषणाको मापदण्ड पूरा भएको वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयका तथ्यांकअनुसार, यस वडाको कुल जनसंख्या ६७९० रहेको छ, जसमा महिला ३३५७ र पुरुष ३४३३ छन्। १८ वर्षमुनिका बालबालिकाको संख्या २०१४ रहेको छ, जसमा १०४५ बालक र ९६९ बालिका छन्। वडामा ५ सामुदायिक र १ संस्थागतसहित ६ वटा विद्यालय सञ्चालनमा छन्। साथै, १८ वटा बाल समूह र १ वडा बाल सञ्जालमा ३६३ जना बालबालिका सक्रिय छन्। वडामा बालमैत्री स्थानीय शासन वडा समिति, बाल अधिकार समिति, आमा समूह, युवा क्लब र टोल विकास संस्थाहरू क्रियाशील छन्।

यस वडाले पहिले नै पूर्ण खोप वडा, खुल्ला दिसामुक्त वडा र पूर्व साक्षर वडा घोषणा गरिसकेको छ। वडामा बालमैत्री स्थानीय शासन लागू गर्न समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू, अन्तरक्रिया, अनुगमन र समीक्षा सञ्चालन गरिँदै आएको छ।

माघ ११ गते शुक्रबार, बाँझोडाँडास्थित नकौली आधारभूत स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजना हुने कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ।

वडाध्यक्ष सविन न्यौपानेले वडावासी, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाहरू, विद्यालय, र बालबालिका स्वयंको योगदानले अभियान सफल भएकोमा कृतज्ञता व्यक्त गरेका छन्। उनले कार्यक्रमलाई सफल बनाउन सबैलाई आ-आफ्नो स्थानबाट सहयोग र सहभागिता जनाउन आग्रह गरेका छन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img