Tuesday, March 18, 2025
मकवानपुरकैलाश गाउँपालिकाकैलाशमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ६ विद्यालयको सहभागिता

कैलाशमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ६ विद्यालयको सहभागिता

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक खेलकुद विकास समितिमार्फत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। यसअघि विद्यालयको व्यवस्थापनमा हुँदै आएको प्रतियोगिता यस वर्षदेखि ऐनअनुसार समितिले सञ्चालन गरेको हो।

पालिका अध्यक्ष लोकबहादुर मोक्तानका अनुसार, “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित प्रतियोगिता आयोजना गरिएको हो। उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा कैलाशका विद्यार्थी चम्कने बताए।

भवानी माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको दुई दिने प्रतियोगितामा ६ विद्यालयका विद्यार्थीहरू भिड्दैछन्। भलिबल, मार्सल आर्ट, एथ्लेटिक्ससहित विभिन्न स्पर्धाहरू खेलाइँदैछन्। एथ्लेटिक्समा १००, २००, ४०० र ८०० मिटर दौड, हाइजम्प, लङजम्प, सटपुट लगायतका प्रतिस्पर्धा समावेश छन्।

अध्यक्ष मोक्तानले कैलाशले गत वर्ष जिल्ला स्तरीय खेलमा १ स्वर्ण, ३ रजत र २ कास्य जितेको स्मरण गर्दै यसपटक पनि विद्यार्थीले पदक जित्ने विश्वास व्यक्त गरे। विद्यालयका उत्कृष्ट खेलाडीलाई जिल्लास्तरको प्रतियोगितामा पठाइने छ भने सबैभन्दा बढी पदक जित्ने विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटनमा उनले कैलाशको कालिका माविलाई पहिलो पटक एसईई परीक्षा केन्द्र तोकिएको जानकारी दिँदै, अब विद्यार्थीलाई बाहिर परीक्षा दिन जानुपर्ने बाध्यता हट्ने बताए।

पालिका उपाध्यक्ष बालकुमार मल्लले विद्यालयबाटै खेलकुद प्रवर्द्धन गर्न सके राष्ट्रिय खेलाडी उत्पादन गर्न सजिलो हुने बताए। उनले अनुशासनसहित खेल्न आग्रह गर्दै विद्यार्थीहरूलाई शुभकामना दिए।

खेलकुद समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता, प्रमुख अतिथि पालिका अध्यक्ष मोक्तान र अन्य अतिथिहरूको उपस्थितिमा सुरु भएको प्रतियोगिता बिहीबार समापन हुनेछ। प्रतियोगिताका विजेतालाई विशेष कार्यक्रमबीच पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img