हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिकामा सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भवानी माध्यामिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। विद्यालयले ९ स्वर्ण, १ रजत, र २ कांस्य पदक प्राप्त गर्दै प्रतियोगिताको शिल्ड उचाल्न सफल भयो।
प्रतियोगिता भवानी माविको खेलमैदानमा आयोजना गरिएको थियो, जसमा ६ वटा माध्यामिक विद्यालयले सहभागिता जनाएका थिए। कमलादेवी माविले ४ स्वर्ण र १ कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्यो भने कालिका माविले २ स्वर्ण, ५ रजत, र ६ कांस्य पदक जित्दै तेस्रो स्थान प्राप्त गर्यो।
हाइजम्पतर्फ छात्रातर्फ समूना मल्ल, गोमा बर्तौला, रुथ जिम्बा क्रमशः प्रथम, द्धितीय र तृतीय भए भने छात्रतर्फ नमराज मुक्तान, उसप मुक्तान र विशाल मोक्तानले पदक जिते। सटपुटमा छात्रातर्फ सरिता सुनार, भीममाया गुरुङ, र लक्ष्मी थोकर विजयी भए भने छात्रतर्फ अजित थिङ, उदय मुक्तान, र साजन कुमार वाईवाले स्थान बनाए। ज्यावलिन थ्रोमा छात्रातर्फ मुना गुरुङ, प्रियन्ना थिङ, र मनिषा मुक्तान तथा छात्रतर्फ नवराज मुक्तान, दिवाकर प्रजा, र सोनाम घिसिङ विजयी भए।
लङ्गजम्पमा समूना मल्ल, विनिता थिङ, र गोमा बर्तौलाले छात्रातर्फ सफलता पाए भने ८ सय मिटर दौडमा अनक मुक्तान, विकास थिङ, र विप्लव घिसिङ उत्कृष्ट सावित भए। ४ सय मिटर दौडतर्फ सदीक्षा गुरुङ, रेश्मा स्याङ्बो, र सञ्जमाया मुक्तान तथा छात्रतर्फ रमन थिङ, सुरेश खड्का, र सुनील प्रजाले पदक जिते। २ सय मिटर दौडमा छात्रातर्फ सविना वाईवा, मनिषा नेगी, मनमाया बुलुन तथा छात्रतर्फ आमोश चेपाङ, सुदीप मुक्तान, र दिवाकर प्रजा सफल भए।
भलिबलतर्फ कमलादेवी माविले उपाधि जित्न सफल भयो भने धुवाङ मावि उपविजेता बन्यो। प्रतियोगिता पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यता तथा मोहन वाईवाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। विजयी खेलाडीहरूलाई अध्यक्ष मोक्तान र उपाध्यक्ष बालकुमार मल्लले शिल्ड, प्रमाणपत्र, र मेडल प्रदान गरे।