मकवानपुरकैलाश गाउँपालिकाकैलाशमा हाते ट्याक्टर मर्मत तालिम : अब गाउँमै मर्मत, खर्च र झन्झट...

कैलाशमा हाते ट्याक्टर मर्मत तालिम : अब गाउँमै मर्मत, खर्च र झन्झट दुबै घट्ने

कैलाश | कैलाश गाउँपालिकामा १० दिने एडभान्स हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन भएको उक्त तालिमले स्थानीय कृषकहरूलाई प्रविधिमैत्री बनाउँदै मर्मतमा आत्मनिर्भर बनाउने उद्देश्य लिएको छ।

तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले परम्परागत गोरु खेतीबाट आधुनिक कृषियन्त्रको प्रयोगतर्फ गाउँबासी उन्मुख हुँदै गएको बताए। उनका अनुसार गाउँपालिकाभित्र पाँच सयभन्दा बढी हाते ट्याक्टर छन्, तर मर्मत प्राविधिकको अभावमा बिग्रिएपछि थन्क्याएर राख्ने बाध्यता थियो। “अब त्यो अवस्था अन्त्य हुन्छ,” उनले भने, “मर्मत तालिमपछि कृषकहरूले आफैं साधारण मर्मत गर्न सक्छन्।”

यसअघि मर्मतका लागि हेटौंडा वा मनहरीबाट प्राविधिक बोलाउनुपर्ने, जसले समय र खर्च बढाउने अवस्था बनाउँथ्यो। तालिमपछि यस्ता झन्झटहरू हट्ने र गाउँमै सीप विकास हुने आशा गरिएको छ।

तालिमको प्रभावबारे उपाध्यक्ष बालकुमार मल्लले भने, “साधारण मर्मत खर्च कम हुनेछ, साथै यही सीपको प्रयोग गरेर आम्दानीको बाटो पनि खुल्नेछ।”

प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले लघु उद्यममार्फत सीप विकासले मात्र होइन, गरिबी निवारणमै टेवा पुर्‍याउने बताए। उनले सहभागीहरूलाई आफ्नो सीप घरघरमा देखाउन र अभ्यासमा उतार्न आग्रह गरे।

गाउँपालिका वडा नम्बर ८ भार्तामा चैत्र २९ गते सुरु भएको तालिम वैशाख ८ गते सम्पन्न भएको हो । उद्यम विकास प्रमुख प्रमिला अर्यालका अनुसार १६ जनाले तालिममा भाग लिए र दुर्गाबहादुर बोम्जनले प्रशिक्षण दिएका थिए। अर्यालले हरेक घरमा आवश्यक पर्ने साधारण मर्मतको ज्ञानले ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच सहज बनाउने बताइन्।

तालिम समापन कार्यक्रम वडा ८ का अध्यक्ष आशिष प्रजाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा पालिका अध्यक्ष मुक्तान प्रमुख अतिथि थिए भने उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, वडा सदस्य विविराज थिङ, प्रशिक्षक बोम्जन, सचिव प्रकाश अर्याल, कृषि प्राविधिक प्रताप थिङ, उद्यम विकास प्रमुख अर्याल लगायतको उपस्थिति रहेको थियो।

यो तालिमले “मेसिन बिग्रियो भने थन्क्याएर राख्ने” परिपाटी तोड्दै गाउँमै प्रविधिमा आधारित आत्मनिर्भरता भएको छ । गाउँगाउँमा यान्त्रिकीकरण बढिरहेका बेला मर्मतको सीप विकासले न केवल आर्थिक भार कम गर्नेछ, बरु स्थानीयस्तरमा रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने सम्भावना पनि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img