सुनसरी / झापाको मेचीनगर नगरपालिका वडा नम्बर -१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । आज शनिबार बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको थियो ।
आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए । उद्योगमा प्लास्टिकको मात्रा धेरै भएकोले आगो निभाउन गार्हो भईरहेको प्रहरीले जनाएको छ । आगो अझै नियन्त्रणमा आइनसकेको दाहालले बताए ।
ठूलो सङ्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन् । २०७५ सालमा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो ।
उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिए ।आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।आगो निभाउने प्रयास भईरहेकाले क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान रहेको छ । – फोटो साङ्केतिक