इटहरी / आज प्रणय दिवसको अवसर पारेर तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरेको थियो ।
इटहरी २० तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना सुनाएका थिए । क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीका अनुसार प्रणय दिवसको अवसर पारेर सृजना वाचन कार्यक्रम राखिएको हो । कार्यक्रमअघि सङ्गीत साधनाका तत्कालीन अध्यक्ष राम धामीको स्मृतिमा मौनधारण गरिएको थियो । उनले भने, ‘साहित्यिक गतिविधिमा सक्रिय भइरहनका लागि पनि यस्ता कार्यक्रमको आवश्यकता महसुस गरी आयोजना गरिएको हो ।’
विभिन्न समयमा साहित्यिक गतिविधि गर्दै आएको क्यानभार साहित्य समाजका अध्यक्ष भरत दाहालले बताए । उनका अनुसार तीन दर्जन बढी स्रष्टाहरूले रचना सुनाएका थिए । धरानका कवि चन्द्र गुरुङ, सुदीप पाख्रीन, बीरेन सुब्बा, विशाल नाल्बो, तीर्थराज विक, करुणा राई, एकराज थापा लगायतले कविता वाचन गरेका थिए । यस्तै, इटहरीकी टीका आत्रेय, राज आशातीत, जीबी गजल, विनोद विवश, प्रभास गौतम, मिश्रा गुरुङ, गोकर्ण खड्का, सोमराज सार्की, सन्जीप तिम्सिना, नवराज मैनाली, राधा रमा, विनय सरगम, किरण सिवा, सुमन रेग्मी, प्रमोद ढकाल र प्रो. निफोली लगायत इटहरीका कवि र गजलकारहरूले सृजना सुनाए ।
यस्तै, डा. भक्त राई, सन्तोष सुवेदी, सूर्य तामाङ, दीपा स्पन्दन, छबिना मगर, दीपा लुईँटेल, खगेन्द्र समरस, रोहिणी रसिक लगायतले सृजना वाचन गरे । कार्यक्रममा डा. रामजी तिम्सिना, अग्रज कवि बद्री भिखारी, इटहरी भाषा, साहित्य, कला प्रतिष्ठानका संयोजक कृष्णविनोद लम्साल, इटहरी साहित्य सङ्गीत प्रतिष्ठानका सह–संयोजक मणि गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पृथक ढङ्गबाट सञ्चालन गरिएको कार्यक्रममा आमन्त्रित सबैलाई एकमुष्ट रूपमा स्वागत गर्दै कवि चन्द्र गुरुङको कविताबाट कार्यक्रम समापन गरिएको क्यानभास साहित्य समाजले जनाएको छ ।