सुनसरी / इटहरी ६ स्थित जुट विकास नजिकै एकता टोलमा आज बिहान चितुवा भेटिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको मुख्य चौकमा पर्ने यो क्षेत्रमा सोमबार बिहान चितुवा भेटिएको हो । चितुवा भेटिएपछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला बन कार्यालय सुनसरीसहितको टोलीले सुरक्षित रूपमा नियन्त्रण लिनेबारे छलफल भइरहेको छ ।
यस्तै, कोशीटप्पु वन्यजन्तु आरक्षबाट पनि कर्मचारीहरू आइरहेको घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलले जानकारी दिए ।‘इटहरीमा कहिल्यै नदेखिएको चितुवा अहिले देखिएपछि इटहरीका स्थानीय अचम्मित भएका छन् ।
पत्रकार भुजेलले भने, ‘अहिले सुरक्षा निकायको छलफल भइरहेकाले यसलाई सुरक्षित रूपमा नियन्त्रण लिने प्रयास भइरहेको छ, कहाँबाट, कसरी र कतिबेला आयो भन्ने यकिन खुलेको छैन ।’
इटहरी ६ एकता टोलका नेरु चौधरीको घरको ग्राउण्डमा अहिले चितुवा बसेको छ । प्रहरीले नेटको माध्यमबाट नियन्त्रणमा लिने प्रयास गरिएपनि सुरक्षा निकायको छलफल भइरहेको पत्रकार भुजेलले बताए ।