सुनसरी / इटहरीको कान्छी चोकमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा एक युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यलय इटहरीका अनुसार हिजो मंगलबार राति ९ बजेतिर इटहरी वडा नम्बर- १७ कान्छी चोकमा पूर्व- पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स ५ प ७८८ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४१७१ नम्बरको ट्रक एकापसमा ठक्कर भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका – ९ बस्ने ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
‘एन्टीलाइट’ भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।