सुनसरी / पाँचथरमा आज मंगलबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
झापाको बिर्तामोडबाट ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप मंगलबार दिउँसो १ बजेतिर फिदिम नगरपालिका -२ सामदिनमा दुर्घटना भएको थियो ।
दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको निधन भएको छ । उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले बताए ।
दुर्घटनामा ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मासहित २ जनाको अवस्था गम्भीर भएको उनले जानकारी दिए । दुर्घटनामा १३ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।