सुनसरी / मोरङको बूढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको हो ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेकाअनुसार बूढीगंगा गाउँपालिका ६ सुक्चरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ९ प ७८२८ र उत्तरतर्फ जाँदै गरेको को २९ प ६१५९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ७८२८ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगपालिका ५ का अन्दाजी २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको न्यौपानेले बताए ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । यस्तै, उक्त मोटरसाइकलको पछाडि सवार विराटनगर ५ का २५ वर्षीय सुरज उराउ घाइते भएका छन् ।
त्यस्तै, अर्को मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका ११ का अन्दाजी १६ वर्षीय सनम सरदार, अन्दाजी १५ वर्षीय आकाश सरदार र अन्दाजी ५ वर्षीय राकेश सरदार घाइते भएका छन् ।
सनम मोटरसाइकल चालक हुन् । सामान्य अवस्थाका सबै घाइतेको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।