इटहरी | इटहरी उपमहानगरपालिकाले आजदेखि चार वटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ। वातावरणमैत्री, सुरक्षित, र उपभोक्तामुखी बस सेवा सुरुवाती चरणमा आज (बुधबार) र भोलि (बिहीबार) सर्वसाधारणलाई निःशुल्क यात्रा गराउने व्यवस्था गरिएको छ।
इटहरीका मेयर हेमकर्ण पौडेलले बुधबार नगर बसमा यात्रा गर्दै विभिन्न वडाहरूको अवलोकन गरेका थिए। उनले यो विद्युतीय बस सेवा वातावरणमैत्री र अपाङ्गमैत्री भएकाले इटहरीवासीका लागि निकै लाभदायी हुने बताए। सर्वसाधारणले पनि यो सेवा निकै उत्साहका साथ स्वीकार गरेको मेयर पौडेलले जानकारी दिए। बसको सञ्चालनले ग्रामीण भेगलाई सहरसँग जोड्ने र आवतजावतलाई सहज बनाउने उनको भनाइ छ।
बसको स्वागत विभिन्न स्थानमा सर्वसाधारणले फूलमालासहित गरेको थियो। अपाङ्गमैत्री सुविधा भएकाले यो सेवा फरक क्षमता भएका व्यक्तिहरूका लागि पनि सहज हुने जनाइएको छ।
बस सेवा नियमित रूपमा बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनेछ। सेवा शुल्क २० रुपैयाँ तोकिएको छ। इटहरीको प्रमुख सडक र विभिन्न वडाहरूमा सञ्चालन हुने बसको रूट धरान–विराटनगर सडक, पूर्व–पश्चिम सडक र इटहरीभित्रका प्रमुख स्थानहरू सम्मिलित छन्।
इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवाले दिगो यातायात प्रणालीको विकासमा योगदान पुर्याउने विश्वास लिएको छ।