संखुवासभा | जोगवनी नाकादेखि संखुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडकको ‘ब्रेक थ्रू’ सम्पन्न भएको छ।
संखुवासभा सदरमुकाम खाँदबारीदेखि चीनको उत्तरी सीमा नाका किमाथाङ्कासम्मको १५८ किलोमिटर सडकको ट्र्याक खोल्ने काम पूरा भएको हो। सोमबार भएको ‘ब्रेक थ्रू’ कार्यक्रममा संघीय सरकारका तीन मन्त्रीहरूको उपस्थितिमा औपचारिक रूपमा उक्त सडक खण्ड उद्घाटन गरिएको छ।
खाँदबारी–किमाथाङ्का सडक खण्डअन्तर्गत च्याम्ताङदेखि घोङघोप्पासम्मको १०.५ किलोमिटर चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खोलेको हो। कठिन भूभागमा सेनाको उल्लेखनीय भूमिकाले यो परियोजनालाई सफल बनाएको छ।
सडक उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल उपस्थित थिए।
सडक ट्र्याक खुलिसकेपछि अब कोशी राजमार्गलाई स्तरोन्नति र चौडा बनाउने कार्य तीव्र गतिमा अघि बढाइनेछ। यसले भारतको जोगवनी नाकादेखि चीनको किमाथाङ्का नाका जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।