इटहरी | समाजमा लागूऔषधको विकराल समस्या बढ्दै गएको छ। युवापुस्ताको भविष्यलाई अनिश्चिततातर्फ धकेल्दै यो समस्या दिन प्रतिदिन भयावह बन्दै गएको छ। यसै सन्दर्भमा, कोशी प्रदेश प्रहरीले ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ अभियान सञ्चालन गर्दै लागूऔषध दुर्व्यसन विरुद्ध ठोस कदम चाल्ने प्रयत्न गरिरहेको छ।
बुधबार इटहरीमा एक विशेष कार्यक्रमका बीच ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ अभियानको उद्घाटन गरियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने २० जना बढी व्यक्तिहरूलाई सम्मान गरियो। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख डीआईजी राजन अधिकारीका अनुसार यो अभियान लागूऔषध प्रयोगको बढ्दो समस्यालाई जडैबाट निर्मूल पार्ने दीर्घकालीन प्रयासको एउटा हिस्सा हो।
‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स’ नामक अभियानको मूल लक्ष्य विद्यालय तहबाटै सचेतना फैलाउँदै, लागूऔषधको प्रभाव, जोखिम, र समाधानका उपायबारे बालबालिका, अभिभावक र समुदायलाई जागरूक बनाउनु हो।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, डीआईजी अधिकारी, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल लगायतका विशिष्ट व्यक्तित्वहरूले आफ्नो धारणा राखे। सबैले लागूऔषध नियन्त्रण गर्न समुदायस्तरबाट नै पहल आवश्यक रहेको बताए।
मुख्यमन्त्री हिक्मत कार्कीले अभियानको उद्घाटन गर्दै लागूऔषध दुर्व्यसन समाजको एउटा गम्भीर चुनौती बन्दै गएको बताए। उनले भने, ‘पहिले-पहिले धरान र पोखरामा मात्रै यो समस्या गम्भीर थियो, तर अहिले तराईका सबै जिल्लामा फैलिइसकेको छ। विस्तारै हिमाली भेगसम्म यो सञ्जाल पुग्न थालेको छ। यो रोक्न हामी सबैले साझा प्रयास गर्नुपर्छ।’
मुख्यमन्त्री कार्कीले विद्यालयदेखि घरपरिवारसम्म सचेतना अभियान आवश्यक रहेको उल्लेख गरे। ‘दुर्व्यसनीहरूलाई समाजले नकारात्मक रूपमा हेर्नुभन्दा पुनर्स्थापनाको उपाय खोज्नुपर्छ,’ उनले थपे।
यो अभियानलाई विद्यालय तहसम्म प्रभावकारी बनाउन ‘फ्यान क्लब’ स्थापना गरिँदैछ। फ्यान क्लबमार्फत लागूऔषध दुव्र्यसनको विरुद्ध सचेतना कार्यक्रम, अन्तरक्रियात्मक छलफल, पुनर्स्थापनाका उपाय र विद्यार्थीहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउने प्रयास गरिनेछ।
२०७५ साल माघ १४ गते सुनसरीमा ‘शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि’ लागू गरिएको ‘फ्यान’ अभियान प्रारम्भमा १८ वटा माध्यमिक विद्यालयहरूमा सीमित थियो। तर, यो अभियान हालसम्म ७० भन्दा बढी विद्यालयमा विस्तार भइसकेको छ। प्रहरीको भनाइअनुसार आगामी दिनमा कोशी प्रदेशभर यसको प्रभावकारी विस्तार गरिनेछ।
लागूऔषध दुर्व्यसन मात्र व्यक्तिगत समस्या होइन, यो समाजको सामूहिक चुनौती हो। यसको प्रभावले एउटा पुस्ताको भविष्य अन्धकारमय बनाउन सक्छ। कोशी प्रदेशमा सुरुआत गरिएको ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ अभियानले समाजमा नयाँ चेतना ल्याउने अपेक्षा गरिएको छ।