इटहरी | इटहरी उपमहानगरपालिकामा भएको व्यापक भ्रष्टाचारको आरोपलाई लिएर प्रतिनिधिसभामा आवाज उठेको छ। इटहरी उपमहानगरपालिकाले खरिद गरेका चार विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले इटहरी उपमहानगरपालिकामा टेन्डर आव्हानदेखि योजना तर्जुमा गर्दासम्म व्यापक भ्रष्टाचार भएको आरोप लगाए। उनले उपमहानगरपालिकाले आपूर्तिकर्तासँग मिलेमतो गरेर तेस्रो कम्पनी खडा गरी भ्रष्टाचार गरेको दाबी गरे।
सांसद चौधरीले नगर अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिदमा पनि अनियमितता भएको आरोप लगाउँदै, ५ करोड पर्ने मेसिनलाई ८ करोडमा खरिद गर्ने तयारी भएको र जनदबाबपछि टेन्डर रद्द गरिएको जानकारी दिए। त्यस्तै, शान्ति सिर्जना माध्यमिक विद्यालयमा जनप्रतिनिधि र कर्मचारी मिलेर ८० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप पनि उनले लगाए।
आर्थिक वर्ष २०७९/८० मा शिक्षकको तलब शीर्षकमा विद्यालयलाई ७ लाख ३६ हजार रुपैयाँ मात्र दिनुपर्नेमा ८८ लाख रुपैयाँ भुक्तानी गरिएको चौधरीको दाबी छ।