इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १९ मा उपभोक्त समितिहरूले सम्पन्न गरेका कामको भुक्तानी समयमा नपाएपछि उनीहरूले गम्भीर गुनासो गरेका छन्। आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भएका विभिन्न विकास आयोजनाहरूको भुक्तानी नहुँदा उपभोक्त समितिदेखि मजदुर, व्यवसायीहरू समेत मर्कामा परेका छन्।
उपभोक्त समितिका सदस्य सुरेश बनले नगरपालिकाले आफ्नो खातामा रकम नहुनुका कारण भुक्तानी रोकिएको जानकारी दिए। असार मसान्तसम्म रकम उपलब्ध नगराएको र भदौ १६ गतेसम्मको समयसीमा दिए पनि अहिलेसम्म भुक्तानी प्राप्त नभएको भन्दै उनले विरोध व्यक्त गरे। “काम सम्पन्न गरेर आवश्यक कागजात मिलाइसकेका छौं, तर अझै पनि भुक्तानी नपाउँदा हामीलाई ठूलो समस्या परेको छ,” सुरेश बनले भने।
उनको भनाइलाई थप बलियो पार्दै उपभोक्ता कुमार बहादुर राईले पनि वडाको सिलिङ बजेटबाट आवश्यक विकासका कामहरू सम्पन्न भए पनि भुक्तानी नपाएको बताए। “मजदुर र व्यवसायीहरूले काम गरेको भए पनि आफ्नो पारिश्रमिक नपाउँदा दैनिक जीवनयापनमा नै समस्या उत्पन्न भएको छ,” राईले भने।
वडा नम्बर १९ का अध्यक्ष नारायण चौधरीले लामो समयदेखि बैठक बस्न नसकेको कारण रकम के कारणले रोकियो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए। “बैठक बस्न नसक्दा धेरै कामहरूमा ढिलाइ भएको छ, तर यो विषयमा छिट्टै समाधान खोजिनेछ,” चौधरीले आश्वासन दिए।
यसैबीच, इटहरी उपमहानगरपालिकाले भने अन्य महत्त्वपूर्ण योजनाहरूमा ध्यान केन्द्रित गरिरहेको छ। पाँच महिना अघि नगर प्रमुखले ऐमालेका कारण भुक्तानी रोकिएको दाबी गरेका थिए। तर, यति लामो समय बित्दा पनि भुक्तानी नगरिएकोले नगरको कार्यक्षमतामाथि नै प्रश्न उठ्न थालेको छ।
उपभोक्त समितिका सदस्यहरूले चेतावनी दिँदै भने, “यदि छिट्टै भुक्तानीको समस्या समाधान भएन भने हामी नगरपालिकाविरुद्ध थप कदम चाल्न बाध्य हुनेछौं।” स्थानीय व्यवसायी र मजदुरहरूले पनि नगरपालिकाले जिम्मेवारी पूरा नगरेकोमा असन्तुष्टि व्यक्त गर्दै यो समस्याले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर पारेको जनाएका छन्।
यो परिस्थितिमा, इटहरी उपमहानगरपालिकाले छिट्टै समाधान निकालेर मजदुर, व्यवसायी र उपभोक्त समितिहरूको समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ। अन्यथा, यसले नगरको विकासको गति नै प्रभावित गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।