काठमाडौं । पछिल्लो समय नेपालमा दिनानुदिन कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेका छन् । यसैबीच हाल नेपालमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमितहरु भएका जिल्लाको संख्या १४ वटा पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली छन् ।त्यस्तै दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सलार्ही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । कोरोना सङ्क्रमण सबै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा २६ हजार ६९८ जना, ललितपुरमा ६ हजार ६१२ जना र भक्तपुरमा तीन हजार ७८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।विहीबार मुलुकभर थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ ।
अहिले नेपालमा आईसीयूमा १ सय ८६ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै, भेन्टिलेटरमा २७ जना रहेका छन् । यता होम आइसोलेसनमा ५५ हजार ८३६ जना र संस्थागत आइसोलेसनमा १ हजार ४९२ जना रहेका छन् । क्वारेन्टिनमा भने १२५ जना रहेका मन्त्रालयले जनाएको छ ।मुलुकभर पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ७५ हजार २०५ पुगेको छ, भने एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख सात हजार ८२३ पुगेको छ ।
नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख ८७ हजार ७६९ जनामा तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख आठ हजार ११९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।