चितवन – अभिनेता राजेश हमाल केही दिनदेखि चर्चामा छन् । काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेको भन्दै सामाजिक सञ्जालमा उनी चर्चामा आएका हुन् ।
पछि उनले त्यस विषयमा प्रस्टीकरण नै दिनुपर्ने अवस्था आयो । अहिले तिनै अभिनेता नारायणी नदी सरसफाइ अभियानमा लागेका छन् । सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ स्थित नारायणी नदी किनारमा पुगेर उनले फोहोरमैला संकलन गरे । हमालले बिहान दुई घन्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरे ।
हमाललाई सरसफाइमा स्थानीयले पनि साथ दिएका थिए । स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले नदी सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । केही समयअघि सोही ठाउँमा घुम्न आउँदा निकै फोहोर देखेपछि स्थानीयलाई लिएर आफू सरसफाइमा खटिएको हमालले बताए । उनले स्थानीय व्यवस्थापन समितिलाई नदी किनारको नियमित सरसफाइमा जुट्नसमेत आग्रह गरे ।
झन्डै एक घन्टा आफैंले सफारी गाडी चलाएर हमालले त्यस क्षेत्रको अवलोकन गरेका थिए । अवलोकन गर्ने क्रममा गैंडा भेटिएको थियो ।
नवलपरासी राजेश हमालको बाल्यकाल बितेका जिल्ला हो । उनको नवलपरासीमा प्रशस्त जग्गा जमिन छ । त्यही भएर उनी बेलाबेला नवलपरासी गइरहन्छन् ।