काठमाडौं – नेपालको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जति अस्थिर नेता सायदै कम होलान् । उनी कहिल्यै पनि स्थिर देखिएका छैनन् ।
कांग्रेससँग सरकार चलाइरहेका बेला उनले ०७४ सालमा एमालेसँग सहकार्य गरेर चुनाव जिते । पछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण नै गराए । तर, त्यो तीन वर्ष पनि टिकेन ।
त्यसपछि फेरि उनी नेपाली कांग्रेसकै शरणमा आइपुगे । अबदेखि गल्ती गर्दिन भनेर बाचा कसम पनि खाए । अहिले पनि कांग्रेस र माओवादी केन्द्र सरकारमा छन् ।
पाँचदलीय गठबन्धन बनेको छ । तर, कांग्रेसले चुनावमा गठबन्धन नगरेको भन्दै अहिले फेरि उनी एमालेको शरणमा पुगेका छन् । उनले स्थानीय निर्वाचनमा एमालेसँग गठबन्धन गरेर जान जिल्ला जिल्लामा आफ्ना नेताहरूलाई निर्देशन दिएको समाचार बाहिरिएको छ । माओवादी केन्द्रका नेता चक्रपाणि खनालले अध्यक्ष प्रचण्डले एमालेसँग मिलेर चुनाव लड्न सर्कुलर नै जारी गरिसकेको जानकारी दिएका छन् ।
प्रचण्डको यो हर्कतले नेपाली कांग्रेसलाई भने गठबन्धन नगर्न बाटो खुला भएको छ । यसै पनि नेपाली कांग्रेसमा चुनावमा गठबन्धन नगर्न दबाब पर्र्दै आएको छ । कम्युनिस्ट पार्टीहरू विभाजित भएका बेला कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत बलियो छ ।
तर, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने कम्युनिस्टको भर हुन्न, फेरि पनि उनीहरू मिल्न सक्छन् भन्दै केही केही ठाउँमा गठबन्धन गरेर जानुपर्ने मनस्थितिमा देखिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण देउवा आफ्नो मनस्थिति परिवर्तन गर्न बाध्य हुनेमा कांग्रेस नेता कार्यकर्ता विश्वस्त छन् । यतिबेला आफ्ना धेरै नेता कार्यकर्ताले पार्टी छाडेको भन्दै प्रचण्ड एमालेसँग मिल्न बाध्य हुने विश्लेषण गर्न थालिएको छ ।