२१ जेठ, काठमाडौं । एक व्यापारीलाई लैनचौरमा सुन किन्न बोलाएर ३५ लाख लुटपाट गरिएको छ । लुटेराहरुले नक्कली सुन देखाएर लुटपाठ गरेका हुन् । तीन साता अघि नेपाल प्रहरीमा कार्यरत दुई जवानको संलग्नतामा सो रकम लुटपाट भएको हो । तर प्रहरीले यो विषयलाई गुपचुप राखेको छ , बाहिर ल्याउन चाहेको छैन ।
लुटपाटमा नेपाल प्रहरीको संगीत विद्यालयमा कार्यरत रहेका जवानको संलग्नता रहेको खुलिसकेको प्रहरीले पनि प्रहरीले अनुसन्धानकै क्रममा रहेको भन्दै यो घट्नालाई गुपचुप राखिरहेको छ । लुटेरा समूहले सुन व्यापारीलाई आफूसँग एक किलो सुन भएको बताएउदै ३५ लाखमा दिने सहमति गरी लैनचौरमा बोलाएको र पैसा र सुन लिनेदिने क्रममा लुटपाट भएको थियो ।
‘सुन लिने दिने क्रममा प्रहरीले लुटपाट गरेको देखिन्छ हामी अनुसन्धना गरिरहेका छौ’, परिसर स्रोतले भन्यो । स्रोतका अनुसार प्रहरी लुटपाट गर्ने क्रममा मोबाइल खसालेको र सोही मोबाइलका कारण अनुसन्धान गर्न सहज भएको प्रहरीको दावी छ ।
‘लुटेरा समूहले सस्तो मूल्यमा सुन दिन तयार भएको र एक किलो सुनको मूल्य ३५ लाख तय भएपछि व्यापारी सुन लिन लैनचौर पुगेका रहेछन् त्यही क्रममा लुटपाट भएको देखिन्छ’, महानगरीय प्रहरी परिसरका एक अधिकारीले भने । लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर उसले तीन सातासम्म पनि आफ्ना सहयोगीहरुबारे केही बताउन सकेको छैन । परिसर स्रोतका अनुसार प्रहरी कर्मचारी भने फरार रहेका छन् ।
घट्ना भएको तीन साता वितिसक्दा पनि प्रहरीले यो विषयलाई किन बाहिर ल्याएको छैन भन्ने बारेमा केही जानकारी नभएको ती अधिकारीले बताएका छन् ।
‘नक्कली सुनको फोटोहरु लगायत देखाएर प्रलोभनमा पारिएको रहेछ उनीहरुले ३५ लाख रुपैयाँ लुटेर फरार भएको भन्दै व्यापारी प्रहरीकहाँ आएपछि अनुसन्धान थालिएको हो’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने । उनका अनुसार लुटपाटमा संलग्न रहेका प्रहरी कर्मचारीहरुको पनि पहिचान भैसकेको छ । सुन कारोवारी भने भारतीय नागरिक भएको पनि प्रहरीको दावी छ ।