काठमाडौं : चार वर्षअघि घरेलु कामदारको रूपमा कञ्चनपुरबाट ल्याएर आफैंले संरक्षण दिएकी १३ वर्षीया बालिकालाई बला’त्कार गरेको आरोपमा ललितपुरको इमाडोल बस्दै आएका व्यवसायी सुशील चटौत प्रहरी हिरासतमा छन्।
उनीविरुद्ध गत वैशाखमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा जबर्’जस्ती करणीको मुद्दा दायर भएको थियो। हाइड्रो, होटल व्यवसाय र कन्ट्रक्सनलगायतको व्यवसायमा संलग्न चटौतमाथि बालिकालाई तीन वर्षदेखि बला’त्कार गरेको आरोप छ।
घरमालिकबाटै पटकपटक बलात्कारमा परेकी बालिका प्रहरीको संरक्षणमा पुगेकी थिइन्। त्यसपछि आफूले अध्ययन गर्ने विद्यालय, राष्ट्रिय बालअधिकार परिषद् र बाल हेल्प लाइनको सहयोगमा सिविस नेपालको संरक्षणमा पुगेकी बालिकालाई उनकै आमाबुवाले पीडककै पक्षमा बकपत्र गर्न दबाब दिएका थिए।
यता सुशील चटौतविरुद्धको बलात्कार मुद्दा हेरिरहेकी ललितपुरकी सरकारी वकिल संगीता थोकरलाई महान्यायाधिवक्ता कार्यालयले असामान्य रूपमा सरुवा गरेपछि यो मुद्दा बाहिर आएको छ। सामान्यतया कुनै पनि सरकारी कर्मचारीको सरुवा दुई÷दुई वर्षमा हुन्छ।
तर, ललितपुर जिल्लाकी सरकारी वकिल संगीता थोकरको सरुवा बिहीबार १५ महिनामै भयो। बालिकाको मुद्दा कमजोर बनाउनको लागि महान्यायाधिवक्ताको सचिवालयबाट उनलाई पटकपटक दबाब दिइएको थियो। मुद्दा कमजोर बनाउन नमानेपछि आफूलाई सरुवा गरिएको उनले बताइन्। उनलाई हेटौंडास्थित मुख्य न्यायाधिवक्ता कार्यालयमा शाखा अधिकृतको कामकाज गर्नेगरी जिम्मा दिइएको छ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले भने सरकारी वकिल संगीता थोकरलाई नियमित प्रक्रियाकै आधारमा विशेष कारण सरुवा गरेको बताए। तर त्यो विशेष कारण भने खुलाएनन्। भने, ‘यहाँका कर्मचारीले दबाब दिने भन्ने कुरा नै आउँदैन। तर, सरुवा भएको विषय भने सत्य हो।’
यो समाचार आजको आनापुर्ण पोस्ट दैनिकमा छ ।



