काठमाडौं । अव्यवस्थित बस्ती हटाउने काठमाडौं महानगरपपालिकाका मेयर बालेन्द्र शाहको अभियानबिरुद्ध स्थानीयले खुकुरी प्रदर्शन गरेका छन् ।
काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने क्रममा स्थिति तनावग्रस्त बनेपछि स्थानीय खुकुरी बोकेर बाहिर निस्किएका थिए ।
सोमबार काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् । स्थानीय खुकुरी लिएर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीको ढुंगा लागी करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरी बलका एसपी राजुनाथ पाण्डेले जानकारी दिए । एसपी पाण्डेसमेत घाइते भएका छन् । ढुंगा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।