म्याग्दी – २३ वर्ष अघि ट्रयाक खुलेको यो सडकको स्तरोन्नती गर्न राज्यले विगतमा प्राथमिकतामा कहिल्यै पारेन । अघिल्लो वर्ष देखि थालिएको स्तरोउन्नती योजना पनि ठेकेदारले काम गर्न छाडेपछि अहिले अलपत्र छ । ठेकेदारले विभिन्न वहाना बनाएर सडक योजना अलपत्र पारेको छ ।
दैनिक रुपमा म्याग्दी र मुस्ताङको भ्रमणमा निस्केका सयौं सवारीसाधनहरु गुड्ने यो सडक यतिखेर ठेकेदारले काम गर्न छाडेपछि अलपत्र छ ।
राष्ट्रिय गौरबको कालिगण्डकी करिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा –बेनी सडक खण्डको स्तरोन्नती सहित कालोपत्रे योजनाको ठेक्का लिएको ठेकेदार लामोसमय सम्मपनि काममा नर्फकिएपछि सडक अलपत्र परेको हो । जिर्ण र अस्तव्यस्त सडकका कारण सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ ।
मालढुङ्गा देखि बेनी सम्म जम्मा १३ किलोमिटर सडक पार गर्न डेढ घण्टा समय लाग्ने गरेको छ ।
राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति योजनाको २०७७ चैतमा ५२ करोड ८६ लाख ३१ ह्जार दुईसय ८१ रुपियाँमा एपेक्स –खड्का –कृष्ण जेभीसँग ठेक्का सम्झौता भएको थियो । अघिल्लो वर्ष देखि सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले पाँचमहिना यता सडक योजना अलपत्र पारेर छाडेको छ ।