काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यमा शपथ ग्रहणका लागि बाटो खुलेको छ ।
सर्वोच्च अदालतले चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै लामिछानेलाई शपथको बाटो खुलेको हो ।
रवि मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । उनको नागरिकता अवैधानिक भएको भन्दै सिन्धुली घर भएका युवराज पौडेलले संवैधानिक इजालसमा रिट हालेका थिए । लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उनको शपथमा रोक लगाउन माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले दुवै पक्षलाई झिकाउने फैसला गरेको छ ।
पौडेको रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भएको हो ।
लामिछानेको नागरिकता विवाद टुंगो नलागेसम्म सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको थियो ।



