सुनसरी / इटहरी १९ तरहरा घर भएका गोपाल भनीने लालबहादुर विश्वकर्मामाथि अन्याय भएको भन्दै सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा समाचार प्रकाशित भए सँगै इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल उनको घर गएका छन् ।
इटहरी २० मा रहेको सिंहदेवी ज्वेलर्समा कालिगडको रूपमा कार्यरत उनलाई जिल्ला अदालत सुनसरीले ३ करोड १४ लाख ११ हजार जरीवाना तोके पछि विश्वकर्मा परिवारको समस्या भएको छ ।
हिजो शनिबार पिडित भनिएका विश्वकर्माको परिवारलाई भेटेर मेयर पौडेलले निर्दोष भएको देशमा तीन तहको अदालत रहेको भन्दै अहिले सम्म अदालतमा विचारधिन मुद्धामा नबोलेको बताउँदै अझै पुरानबेदन अदालत हुदै उच्च अदालत सम्म न्याय माग्ने ठाउँ भएको भन्दै आवश्यक सहयोग गर्ने बताएका थिए ।
लालबहादुरको न्याय पाउँने आशा अझै जिवित रहेको भन्दै इटहरी सरकारले पनि पहल गर्ने बताएका थिए । यता, ‘खाँदै नखाएको विष लाग्यो । बनि बुतो गरेर पाल्नुपर्ने ज्यान जेल जानुपर्यो । त्यत्रो जरिबाना कहाँबाट ल्याउने अझ’, पीडितकी श्रीमती दीलकुमारी विश्वकर्माले गुनासो व्यक्त गरेकी छन् ।
दीपक विश्वकर्मा गजमेरले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा सुन, चाँदीका गरगहना बनाउने कालिगडका रुपमा काम गर्ने लालबहादुरलाई फसाईएको भन्दै अहिले सामाजिक सञ्जाल तातिरहेको छ । दिपक गजमेर विश्वकर्मा र उनका परिवारले सुन पसलको साथै सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिच प्रा,लि नामको बचत पासबुक बनाई उचित ब्याज सहित मुनाफा दिने भन्दै प्रलोभन देखाई स्थानिय २७५ जनाबाट १८ करोड बढी रकम ठगी गरेको प्रमाणसहित उक्त रकम बिगो तिराउने सुनसरी जिल्ला अदालतले फैसला सुनायो ।
२०७८ पौष १९ गते सुनसरी जिल्ला अदालतले ज्वलर्स सञ्चालक दिपक विश्वकर्मा र उनको परिवारसहित लालबहादुर विश्वकर्मालाई अन्य सजायसहित बिगो रकमको बराबर गरि तिराउने भन्ने फैसला गर्दियो र सुनसरी अदालतकी न्यायाधीश निर्मला योङयाको इजलासले एक वर्ष ६ महिना कैद र तीन करोड १४ लाख ११ हजार रूपैयाँ जरिबाना तोकेको छ ।
पिडित भनिएका लालबहादुरले अदालतमा बयान दिँदापनि साहु दिपकका बुबा कृष्णबहादुर अनपढ रहेका र उनको आदेश निर्देशनमा दुई वटा पासबुकमा दस्तखत गरेको र कालिगड बाहेक पसलमा अन्य जिम्मेवारी आफ्नो नरहेको बताएका छन । त्यस्तै साहु र उनको परिवार तथा जाहेरवालाहरुले लालबहादुर विश्वकर्मा निर्दोष रहेको बकपत्रमा बयान दिएका छन । उनी भने अहिले झुम्का कारागार छन ।
दीपकका बुबा कृष्णबहादुर विश्वकर्मा ज्वेलर्समा हुँदा बचतकर्ताले ल्याएको रकम समात्ने र पासबुकमा पैसा बुझेको भरपाईस्वरूप सही गर्ने काम लालबहादुरले गर्थे । उनले भरपाई गरेको रकम १० लाख बराबरको रहेको बताइएको छ ।
विश्कर्माको न्यायका लागि इटहरीमा दबाबमुलक कार्यक्रम पनि भएको थियोे । साहुको ठगी धन्दाले मजदुर निरीह भएको भन्दै अहिले अभियन्ताहरूले ‘जस्टिज फर लालबहादुर’ भनेर अभियान सञ्चालन सुरु गरेका छन् ।
जाहेरीकर्ता, पीडक भनिएका दीपकसहित उनका बाबु कृष्णबहादुरले लालबहादुर निर्दोष रहेको भनिएपनि अदालतले अन्याय गरेको भन्दै अहिले सामाजिक सञ्जालमा उनको पक्षमा अभियन्ताहरूले अभियान चलाउँदै आएका छन् ।