काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले भ्रष्टाचारका नयाँ/पुराना सबै फाइल खोल्नुपर्ने बताएका छन् ।
आज साेमवार प्रतिनिधि सभाकाे पहिलाे बैठकमा बाेल्दै गृहमन्त्री लामिछानेले अहिलेसम्म भएका भ्रष्टाचारको दाग यो संसद्ले बोकेर बस्न नहुने भन्दै यो काम गर्नका लागि अरू दलले प्रतिबद्धता जनाएकैले आफ्नो पार्टी सरकारमा सहभागी भएको बताए । उनले छातीमा हात राखेर आफू र आफ्ना पार्टीका सांसदले कुनै पनि अनियमितता नगर्ने र देशको शिर झुक्न नदिने बताए ।
उनले भने, ‘म छातीमा हात राखेर भन्छु, म र मेरो दलका कुनै पनि सांसदले अनिमितता गर्ने छैनौँ, देशको शिर झुक्न दिने छैनौँ ।’ यसअघि भएका तमाम बेथितिको जवाफ नागरिकले खोजेको भन्दै लामिछानेले अब भ्रष्टाचारका पुराना फाइल खोल्ने बताए ।
न्यूनतम साझा कार्यक्रममा नै इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको विरुद्ध सरकार निर्मम भएर खडा हुने उल्लेख गरिएको लामिछानेको भनाइ छ । उनले आफ्नो दललाई पहिलो पटक संसदमा पुर्याउने मतदातालाई धन्यवाद दिएका छन् । पार्टीका रूपमा नयाँ पार्टीको उदय नेपालमा त्यति ठूलो कुरा नभएको तर छोटो अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताले ठूलो सन्देश दिएको उनको भनाइ छ ।
‘हामीलाई नागरिकले दिएको मत निराशाको मत होइन, नागरिकले दिएको आशाको मत हो । यो मत आफ्नो दलको लागि मात्रै नभएर सबै दलमाथि गरिएको आशाको मत हो । नागरिकले जानेर र नजानेर असाध्यै परिपक्व निर्णय गर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘नयाँलाई मात्तिने गरी मत दिएका छैनन्, पुराना दललाई सच्चिन अवसर दिएका छन् ।’ उनले यस पटक आम नागरिकले जस्तो जनमत दिएका थिए त्यही जनमतअनुसारकाे सरकार बनेको बताए ।
न्यूनतम साझा कार्यक्रममा नागरिकले महसुस गर्ने गरी परिवर्तन यो देशमा आउनेमा आफूहरू ढुक्क रहेको लामिछानेको भनाइ छ ।