हेटौंडा । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न बनेको राष्ट्रिय भूमि आयोगले मकवानपुरमा पहुँच र शक्तिका आडमा ठूलाबडालाई लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । यसरी लालपूर्जा पाउनेमा अर्बपति व्यापारी अजेयराज सुमार्गीकी आमाको नामसमेत परेको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले अर्बपति अजेयराज सुमार्गीकी आमा विश्वकान्ती कलावती सुमार्गी पराजुलीलाई हेटौँडा–९ मा एक विगाहा १२ कट्ठा २ धुर जग्गा प्रदान गर्ने तयारी गरेको छ । यस्तै सुमार्गी परिवारका अन्य ४ सदस्यका नाममा समेत १ विगाह १७ कट्ठा जग्गा दर्ता गर्ने तयारी छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले माघ १० गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र उक्त जग्गामा दाबी विरोध भए उजुरी गर्न सार्वजनिक सूचना जारी गरेको हो । सूचना जारी भएसँगै हेटौडका स्थानीय चकित परेका छन् । २०५१ सालदेखि वन क्षेत्रका रुपमा संरक्षण गरिरहेको जग्गा पहुँचका आडमा सुमार्गी परिवारले दर्ता गर्न लागेको स्थानीयको आरोप छ ।
सुमार्गी परिवारले दाबी गरेको जग्गा कुखरेनी सामुदायिक वन क्षेत्रभित्र पर्दछ । यो सामुदायिक वनले नदी उकास क्षेत्रको केही भाग ५० वर्षका लागि मानव सेवा आश्रमलाई उपलब्ध गराएको छ ।
सुमार्गी परिवारका सदस्य प्रदीप पराजुली भने यो जग्गा वषौंदेखि आफुहरुले नै भोगचलन गर्दै आएको दाबी गर्छन्