काठमाडौं । काठमाडौंको बालाजु क्षेत्र सोमबार तनावग्रस्त रह्यो । ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात क्षेत्रका मजदुरहरूले बसलाई बिच सडकैमा छाडेर यातायात सेवा अवरुद्ध पारे । यात्रुहरू मर्कामा परे ।
साँझतिर प्रहरी र आन्दोलनरत मजदुरहरूबीच झडप नै भयो । केही प्रहरीसहित प्रदर्शनकारी घाइते भए ।
माछापोखरीमा प्रदर्शनकारीहरूले प्रहरीका दुई गाडीमा आगो लगाइदिए । एउटा प्रहरी बिटमा पनि आगजनी भयो ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिवेश लोहनीका अनुसार झडपबाट २० जना प्रहरी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
झडपको प्रत्यक्ष मारमा भने सर्वसाधारण परे । यतिसम्म कि सर्वसाधारणलाई हिँड्नसमेत कठिन भइरहेको थियो ।
प्रहरी र प्रदर्शनकारीबाट जोगिन उनीहरू हात उठाएर हिँडिरहेका थिए । आफूहरू सर्वसाधारण भएको देखाउन उनीहरूलाई प्रहरीले हात उठाउन लगाएको थियो ।