Sunday, January 19, 2025
समाजइटहरीमा सडक विस्तार, आज पनि चल्यो डोजर

इटहरीमा सडक विस्तार, आज पनि चल्यो डोजर

इटहरी। व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप घरहरू भत्काइएको छ । आज उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा इटहरी वडा नम्बर ६ का घरहरू भत्काइएको हो ।

इटहरी उपमहानगरपालिकाले वडा नम्बर ९ मा पर्ने सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घरहरू दुई साताअघि भत्काएको थियो । वडा नम्बर ६ मा पर्ने ३४ घर भत्काउन शनिबार (माघ २८ गते) सम्मको अल्टिमेटम दिएको र कतिपयले अटेर गरेपछि मेयर पौडेल नेतृत्व टोलीले डोजर प्रयोग गरी घर भत्काएको हो ।

मेयर पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटकपटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो । ६ लेन सडक अन्तर्गतको बाटोमा पर्ने सबै घर भत्काएरै छाड्ने उनको भनाइ छ ।

घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीनसय मिटर सडक विस्तार हुन नसकेको उपमहानगरले जनाएको छ । सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने पनि मेयर पौडेलले बताए ।

इटहरीको मुख्य चोकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ ।

इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेलले पनि सडक क्षेत्रभित्रका घरहरू निरन्तर भत्काउँदै जाने बताए ।

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समयावधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने ६ लेन सडक विस्तार आयोजनाको दाबी छ।

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो समय थप गरिएको छ । सडक निर्माणमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img